३० मङ्सिर, नुवाकोट । त्रिशूलीका नेवार समुदायले प्रभातफेरी गरी य:मरी पुन्ही (पूर्णिमा) मनाएको छ ।
आईतबार विदुर नगरपालिका-१ त्रिशूलीमा रहेको साँघु बासुरी पुच:को आयोजनामा भएको कार्यक्रममा नेवारी धुनमा बाँसुरी बजाउँदै स्थानीय बजार परिक्रमा गरिएको कार्यक्रम संयोजक राजेन्द्रभक्त अमात्यले जानकारी दिए । दशकौंदेखि चलिआएको परम्परालाई यस वर्षदेखि निरन्तता दिएर सबै समुदाय मिलेर य:मरी र भोज खाएर पूर्णिमा मनाएको उनले बताए ।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । य:मरीलाई पञ्चतत्वको रूपमा पनि स्वीकार गर्छन् । य:मरीमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ ।
नेवारी पोशाकमा सजिएर बालकदेखि स्थानीयले य:मरी माग्दै नेवारी गीत गाउँदै त्रिशूलीदेखि ढुङ्गेबजारसम्म परिक्रमा गरेको स्थानीय सरिता जोशीले जानकारी दिईन् । संस्कृति संरक्षण गर्न त्रिशूलीका नेवार समुदायहरुले सामुहिक रुपमा यःमरी पूर्णिमा मनाएको उनले बताईन् ।
प्रभातफेरीमा य:मरी माग्दै साँघु बासुरी पुच:को संरक्षणको लागि सहयोग समेत सङ्कलन गरिएको थियो ।
य:मरी माग्दा यसरी गीत गाउने गरिन्छ :
त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, य:मरी छगः ती यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
य:मरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा
अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देऊ, यो सालको बाली भित्रियो य:मरी एउटा देऊ, य:मरी दिए तरुनी नदिए चाउरी बूढी, दुईवटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देऊ, य:मरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बूढी ।

प्रतिक्रिया