नुवाकोट – टिमुरे बस तथा मिनिबस यातायात प्रालिले सवारीचालकहरुलाई स्थलगत प्रशिक्षण दिएको छ ।
बुधवार कम्पनीको आयोजनामा टोखा–छहरे सडकमार्गमा स्थलगत अनुगमन गरी बढ्दो सवारी दुर्घटनाको न्यूनीकरणलाई कम गर्ने उद्देश्यले चालकहरुलाई प्रशिक्षण दिइएको अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
स्थलगत प्रशिक्षण जिल्ला ट्राफिक कार्यालय नुवाकोटको सहकार्यमा भएको उनले जानकारी दिए । सवारीचालकहरुलाई दुर्घटना न्यूनीकरणका लागि अनुशासित र मर्यादित बनाउने उद्देश्यले स्थलगत प्रशिक्षण गरिएको उनले बताए ।
“चालक तथा कर्मचारीहरुलाई पेशाप्रति सचेत र जिम्मेवार बनाउने तथा यातायात क्षेत्रलाई मर्यादित र अनुशासित बनाई समाजमा सुरक्षित यात्रा प्रदान गर्न प्रशिक्षण गरिएको हो”, उनले भने “प्रत्येक वर्ष सवारी दुर्घटनामा करोडौं रकम खर्चिनु परेको र यसलाई केही हदसम्म यस्ता प्रशिक्षण कार्यक्रमले कम गर्ने छ।”
प्रशिक्षणमा चालकहरुलाई ट्राफिक नियम, सवारी चलाउँदा सीट क्षमता अनुसार यात्रु राख्ने, मोटरसाईकल चालकले हेलमेट लगाउने, मदिरा सेवन नगर्ने, सवारीसाधनको नियमित जाँच लगायत सडकको अवस्थावारे समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा ट्राफिक प्रमुख प्रहरी निरीक्षक अशुतोषबहादुर शाहीले धेरै दुर्घटनाको कारण चालक हुने गरेकोले सडकमै बसरे सवारीचालकहरुलाई प्रशिक्षण दिईएको बताए ।
कार्यक्रममा ट्राफिक नियमसम्बन्धि पर्चा पनि बाँडिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया