नुवाकोट – विदुर नगरपालिकाको देविघाटमा सञ्चालित नि:शुल्क स्वास्थ्य परीक्षण शिविरबाट करीब एक हजार ४०० जनाले सेवा लिएका छन् ।
स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आईरहेको सामाजिक संस्था यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रष्ट र नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखाको संयुक्त आयोजनामा भएको दुई दिने स्वास्थ्य परीक्षण शिविरबाट एक हजार ३३२ जनाले सेवा लिएको संस्थाका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिए ।
शिविरिमा अल्ट्रासाउण्ड, महिलाहरुहरुको पाठेघर स्क्यानिङ, स्तनको स्क्यानिङ, ल्याब सेवा, हाडजोर्नी, सामान्य चिकित्सा, स्त्री तथा प्रसुति रोग, फिजिसियन तथा परामर्श सेवा, मनोरोग सम्बन्धी सेवा, आँखा परिक्षणलगायत नि:शुल्क औषधी वितरण गरिएको ट्रष्टका अध्यक्ष डा. केसीले जानकारी दिए ।
शिविरमा त्रिशूली अस्पताल, सामुदायिक आँखा केन्द्र नुवाकोट, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको प्राविधिक सहयोगमा काठमाडौँका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।
शिविरमा तीन सय ६५ जनाको आँखा परिक्षण गरिएको ३० जनाको मोतियाविन्दु देखिएको जनाएको छ । उक्त बिरामीहरुलाई थप उपचारको लागि सामुदायिक आँखा केन्द्रमा सिफारिस गरिएको छ।
यसैगरी दुई सयभन्दा बढि महिलाहरुको पाठेघरको स्क्यानिङ गर्दा १५ जना महिलाहरुमा आङखस्ने समस्या देखिएको छ । शिविरमा दुई सय जनाभन्दा बढि महिलाहरुको युएसजी, दुई सय ३५ जनाको ल्याब परीक्षण, सहिद प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय र चन्द्रज्योती माध्यामिक विद्यालयका विद्यार्थीहरुको आँखा जाँच गरिएको छ ।
प्रतिक्रिया