काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले सरकारको चाहना लाखौंको संख्यामा नेपालमा चिनियाँ पर्यटक भित्र्याउनु रहेको बताएका छन् ।
आज मङ्गलबार नेपाल पर्यटन बोर्डमा आयोजित चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले नेपालले व्यापार साझेदारी बृद्धि गर्दै लाखौंको संख्यामा पर्यटक भित्र्याउन चाहेको बताएका हुन् । नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकीय गन्तव्य रहेको पनि मन्त्री तामाङले बताए ।
चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यलाई पुरा गर्न चिनियाँ भाषा सिकेका गाईडहरुको आवश्यक रहेको मन्त्री तामाङले बताए ।
मन्त्री तामाङले भृकुटीले नेपालमा जन्मिएका भगवान गौतमबुद्धको दर्शन फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै चिनियाँ आर्थिक विकास र समृद्धिबाट चीन विश्वकै एक महाशक्तिका रुपमा उदाईरहेकाले नेपालको एक असल छिमेकी र मित्रको नाताले यो चीनको सफलता नेपालको अवसर पनि हुने विश्वास पनि व्यक्त गरेका छन् ।
परापुर्वकालदेखिनै सांस्कृतिक सम्बन्धका हिसाबले प्रगाढ सम्बन्ध रहेको चीन आर्थिक र प्राविधिक हिसाबले नेपालको बलियो साझेदारी रहेको भन्दै मन्त्री तामाङले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिएका छन् ।
मन्त्री तामाङले भने, चीन नेपालको एक असल छिमेकी र मित्रको नाताले चीनले गरेको विकासले हाम्रा लागि पनि सकारात्मक र ठुलो अवसर हो। चीन र नेपालबीच सांस्कृतिक बाहेक आर्थिक र प्राविधिक सहायताका लागि पनि चीन सरकारलाई हार्दिक धन्यवाद छ ।”
“सञ्चार र यातायातको व्यापक विकासले र आजको विश्व भुगोललाई व्यापक बनाएको दृष्टिले चीनीया भाषाको सिकाई महत्वपूर्ण छ । पर्यटनको महत्वपूर्ण बजार चीन पनि हो । चीनीया पर्यटक दशौँ लाखको संख्यामा भित्र्याउने सरकारको मनशाय छ । ” मन्त्री तामाङले भन्नुभयो ।
प्रतिक्रिया