काठमाडौं – ‘स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केट’ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
यस सम्बन्धि सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका हुन् ।
उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्ने जनाएको छ ।
यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्नेछ ।
स्वीस मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
नेपालस्थित स्विट्जरल्याण्डको दुतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।
प्रतिक्रिया