+
Search

ताजा अपडेट +

पपुलर +

बिपिको राष्ट्रिय एकता नीति आज पनि सान्दर्भिक

nepali congress melmilap diwas nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाईएको छ । नुवाकोटमा भने भर्चुअल माध्यमबाट विचार गोष्ठी कार्यक्रम गरेको छ । नेपाली काँग्रेस नुवाकोट संगठन विभागको आयोजनामा भएको विचार विमर्श कार्यक्रममा प्रजातान्त्रिकवादीहरुले बिपिको राष्ट्रिय एकता नीति आज पनि सान्दर्भिक रहेको बताएका छन् ।

कार्यक्रममा पार्टी सभापति रमेशकुमार महतले नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापनाको लागि सञ्चालन गरिएको विसं. २००७ सालको क्रान्तिले १०४ वर्षीय निरङ्कुश राणाशासनको अन्त्य भइ मुलुकमा प्रजातन्त्रको स्थापना भएको स्मरण गराए ।

उपसभापति राजु थापाले आजको विश्व भूराजनीति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश पनि विभिन्न किसिमका समस्याहरु जगाएको अवस्थामा बिपिको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए ।

“राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र एक अर्काको परिपूरक भएकाले मेलमिलाप नीतिद्वारा मुलुकमा सुशासन, विकास तथा सम्वृद्धि कायम हुनेमा दुईमत नहोला”, उपसभापति थापाले भने “हाल नेपाली कांग्रेसभित्र मौलाउदै गएको गुटउपगुटको अन्त्य गर्न सम्पूर्ण नेता तथा शुभेच्छकहरुले विपिको चिन्तनलाई मनन् गरी उहाँको विचारलाई व्यवहारमा उतार्नुपर्ने छ ।”

कार्यक्रममा पार्टी सचिव श्रीराम श्रेष्ठले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भ चलिरहँदा आज तिनै विपि र गणेशमानले त्याग र बलिदानी दिएर स्थापित गर्ने नेपाली काँग्रेसको आदर्श घुमित बनेको बताए । पार्टीको सिद्धान्त र व्यवहारगत कार्य प्रणाली निस्तेज बन्दै आन्तरिक एकता र प्रजातान्त्रिक अभ्यास खललिएको सचिव श्रेष्ठले बताए ।

कार्यक्रममा नेतृ विन्दा आर्यालले बिपिको मेलमिलाप नीतिलाई अनुशरण गरी देशमा भएको २०४६ को जनआन्दोलन, २०४७ को संविधान, २०६२/६३ को जनआन्दोलन र २०७२ को संविधान जारी भएको कुरा नकार्न नसकिने बताईन् ।

कार्यक्रममा ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष रामराजा बोगटी, तरुण दलका क्षेत्रीय सभापति सुरजप्रसाद श्रेष्ठ, नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुका सभापति रविन दाहाललगायतले बीपीको राष्ट्रिय एकता र मेलमिलाप नीतिका बारेमा चर्चा गरेका थिए ।

विपि कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइन्छ। कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउने गर्दछ । प्रत्येक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ