नुवाकोट – ककनी गाउँपालिका-५ मा रहेको बसन्ती दरबारको पुननिर्माणपछि ककनी पौवा गुठीका गुठियारले आफ्नो सतातन धार्मिक कार्यलाई निरन्तरता दिएका छन् । बिहिबार गुठियार शशीविक्रम थापाले धार्मिक अनुष्ठान गरी लाखदीप प्रज्ज्वलन गरेका थिए ।
उनका पूर्खा कर्णेल रणवीरसिंह थापाले वि.संं १८८८ सालमा तत्कालीन सरकारबाट लालमोहर पाई उक्त ककनी पौवा गुठीको नाममा जग्गासहित दरबार निर्माण गराएका थिए । रणवीरसिंह प्रधानमन्त्री भीमसेन थापाका भाई हुन् । थापा परिवारले यहाँ १२ पुस्तादेखि बसन्ती दरबारमा आफ्नो पूजापाठ गराउँदै आएको बताए ।
‘पुर्खादेखि हामीले यहाँ पूजा गर्दै आएका छौँ’, उनले भने ‘अहिले हाम्रो १२ पुस्ता भयो । यो पटक भने लाख बत्ती बलेका छौ ।’
पुरातत्व विभागको दुई करोड २० लाख रुपैँया बजेट र ककनी गाउँपालिकाको सहजीकरण तथा समन्वयमा उक्त दरबार पुननिर्माण भएको हो । उक्त दरबार धर्म-एसपी-वर्षा जेभीले निर्माणको ठेक्का लिई निर्माण गराएका थिए ।
दरबारको गारोमा ईटा र माटो प्रयोग गरिएको छ भने भित्तामा चुना र सुर्की प्रयोग भएको छ । बुँटेदार काष्ठकलाका थाम, झ्याल र निदाल अग्रख हालिएको छ ।
दरबार ०७२ साल बैशाख १२ गतेको दरबारको पूर्वीभाग भुकम्प र वर्षात्ले गाह्रो लडेर छानाबाट पानी चुहिने भएको थियो । दरबारफ अगाडि धुपीका रुख र गणेश मन्दिर छ । तीनतल्ले दरबारमा आधा दर्जन कोठा छन् । दरबार झिंगटीले छाइएको छ । वरिपरि बनेका ठूला होटलहरुले दरबारको सुन्दरतालाई छेकेको छ । यो दरबार समुन्द्री सतहदेखि १५ सय मिटर उचाईमा रहेको छ ।

दरबार काठमाडौको उत्तरपश्चिम २९ किमी दुरीमा पर्छ । यही नजिक डाँडाबाट गणेश, गौरीशंकर, लाङटाङ, मनास्लु, साङजेन, अन्नपूर्ण, दोर्जे ल्हाक्पा, छेरकोरी लगायत दर्जन हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
यो दरबार राणा शासन आउनुपूर्व काजी गगनसिंह खवासले आफ्नो प्रेमीका बसन्तीलाई राख्न र गृष्मकालीन मौसममा बस्ने गरेको इतिहासमा छ ।
अब यस्तो कहिल्यै नहोस् नाम पुस्तकमा वि. सं. १९०३ साल भदौ ३१ गते राति १० बजे आवासको माथिल्लो तल्लाको पूजाकोठा पूजा गरिहेका अवस्थामा काजी गगनसिंह मारिएका थिए । उनी रानी राज्यलक्ष्मीको विश्वास पात्र थिए । उनको हत्या गर्ने पात्रको खोजी गर्दा कोतपर्व हुन गएको थियो । यो दरबार राणाहरु नुवाकोट दरबार आउदा बस्ने गर्दथे ।

प्रतिक्रिया