२०८१, १७ बैशाख सोमबार

काँग्रेसमा आन्तरिक विशेष अभियानले दिएको एकताको सन्देश

श्रीराम श्रेष्ठ     श्रावण २५ २०८० ०७:३६


shreeram-shrestha nepali congress nuwakot

नेपाली काँग्रेसले देशभर आन्तरिक विशेष अभियान सञ्चालन गरिरहेको छ । साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानलाई प्रदेश, जिल्ला, क्षेत्र र पालिकास्तरमै केन्द्रीत गरेर संयुक्त बैठकहरु सञ्चालन गरिएको छ । पार्टी सङ्गठन भित्र देखिएका सानातिना मनमुटाव सिध्याएर आन्तरिक रुपमा एकता कायम गर्दै बलियो र सुदृढ सङ्गठन निर्माण गर्दै हरेक भातृ संघसङ्गठनहरुलाई अझै बढी सुदृढ र बलियो बनाउने अभियानको लक्ष्य नेपाली काँग्रेसले लिएको छ । विविध परिस्थितिका कारण क्रियाशील हुन नसकेका आन्तरिक सङ्गठन, भातृ तथा शुभेच्छुक सङ्गठनहरुलाई पूर्णता दिने, पुस्तान्तरण र रुपान्तरणको आवाजलाई मुखरित गर्न पूर्ण रुपमा पार्टीको विधानले निर्देशन गरेको पद्दति अनुरुप पार्टीलाई अगाडि बढाउन पनि नेपाली काँग्रेसले आन्तरिक एकताको विशेष अभियान शुरु गरेको हो । विशेष अभियानले पार्टीको केन्द्रदेखि स्थानीय वडा तहसम्मका नेता कार्यकर्ताहरुबीचको समन्वय र सम्वाद हुनसक्ने वातावरणको सिर्जना गरेको छ । पार्टीको केन्द्रीय नेतृत्व र स्थानीय नेतृत्वबीचको सीधा छलफल र सम्वादले तहगत रुपमा देखापरेको नेतृत्व र कार्यकर्ताबीचको असहमतिको विन्दूहरुलाई पहिल्याउन र देखिएका र उठेका समस्याहरुमा नेतृत्व तहबाटै समाधान निकाल्न विशेष अभियान महत्वपूर्ण देखिन्छ । खासगरी गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनको सन्दर्भमा गठबन्धन र तालमेल लगायतका पार्टीका निर्णयहरुमा पार्टीकै सङ्गठनका नेता कार्यकर्ताहरुले असहमति राखेर असहयोग र अन्तरघात समेत भयो । जसबाट पार्टी सङ्गठन भित्र देखिएका मनमुटावको अवस्थालाई एकता र मेलमिलाप कायम गरी पार्टी सुदृढ र बलियो बनाउने पनि अभियानको मुख्य लक्ष्य रहेको छ ।

हालै सम्पन्न भएको नेपाली कॉग्रेसको केन्द्रीय समितिको बैठकले नेपाली काँग्रेसको साङ्गठानिक सुदृढीकरणका लागि श्रावण २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा काँग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सोही निर्णय अनुरुप अहिले काँग्रेस देशव्यापी कार्यक्रममा सक्रिय रहेको छ । नेपाली काँग्रेस सदैव जनताको बीचमा रहेर जनताको सुख, दुःखको सहयात्री बन्दै आएको छ । यसक्रममा गाउँ, वडा र टोल तहमा मानवीय सेवाका कार्यहरु अझ व्यवस्थित रुपले सम्पादन गर्न ७५३ स्थानीय तहको कार्यसमितिले आफू मातहत ‘गाउँ सेवा दल’ गठन गर्ने निर्णय समेत केन्द्रीय समितिको बैठकमा भएको थियो । निर्णयानुसार पालिका समितिले आवश्यकता अनुरुप वडा र टोल समिति अन्तर्गत समेत यो अभियानलाई अघि बढाउन सक्ने उल्लेख गरिएको छ । यसबाट पार्टी अब स्थानीय स्तरबाट नै सुदृढ र सवल बन्दै अघिबढ्ने रणनीतिमा अघि बढीरहेको देखिन्छ । काँग्रेसमा सध्रैंजसो देखापर्ने अन्तरघात र असहयोगको केही पक्षधरहरुलाई पनि आत्माआलोचन गर्दै पुनः सङ्गठनमा एकतावद्ध रहन अवसर दिदैं सबैलाई एक हुन र सबै तिक्तता हटाएर अघिबढ्न अवसर सिर्जना भएको छ । जसले आगामी दिनहरुमा नेपाली काँग्रेस समक्ष देखिएको चुनौती र अप्ठेराहरुलाई सहजै सामना गर्न सहज हुनसक्छ ।

नेपाली काँग्रेस देशकै ठूलो लोकतान्त्रिक पार्टी हो । लामो समयदेखि प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सङ्घर्ष गरेको पार्टी हो । लोकतान्त्रिक पद्दतिलाई संस्थागत रुपमा विकास गर्न नेपाली काँग्रेसले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वहुदलीय संसदीय शासन प्रणालीमा राजनैतिक विचारधाराका आधारमा संगठित दलहरु बीचमा निर्वाचनका माध्यमले स्वस्थ प्रतिष्पर्धा गरी जनताबाट निर्वाचित हुने र बहुमतका आधारमा शासन सत्ता सञ्चालनको जिम्मेवारी सम्हाल्ने अभ्यास काँग्रेसले गर्दै आएको छ । तर संविधान जारी भएका केही वर्ष नबित्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने र संविधानको मर्म र भावना विपरित कानूनी राज्य, विधीको शासन, पारदर्शिता र जवाफदेहिता जस्ता लोकतन्त्रका मुलभूत आधार माथि नै प्रहार भएपछिको परिणाम स्वरुप पटक–पटक संसद् विघटनका घटना भए । संविधानका पक्षधरहरु जति एक ठाउँमा बसी चिन्तन, सम्वाद, सहमतिबाट सहकार्य गर्ने प्रतिवद्धता सहित काँग्रेसकै नेतृत्वमा पाँच दलीय गठवन्धन बनेको थियो । संविधानको रक्षा र कार्यान्वयन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न नेपाली काँग्रेसले बलियो प्रतिवद्धता गरी अघि बढीरहेको अवस्था छ ।

अहिले नेपाली काँग्रेस सरकारमा सामेल छ । संघ, प्रदेश र थुप्रै स्थानीय सरकारहरुको महत्वपूर्ण जिम्मेवारी काँग्रेसले सम्हाली रहेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण, जनताको जीविकासँग जोडिएका मुद्दाहरुमा काँग्रेसले महत्वपूर्ण कार्ययोजनाहरु अगाडि सारेर काम गरिरहेको छ । देशको समग्र पक्षको विकास र समृद्धिको लागि जनतासँगै एकाकार भएर अघि बढ्न काँग्रेसले अग्रसरता देखाइरहेको छ । देशभरका स्थानीय र विभिन्न संगठानिक तहका नेता कार्यकर्ताहरुलाई काँग्रेसले गरिरहेका सकारात्मक कामको बारेमा जानकारी दिने र आगामी दिनमा जनताको हितमा गर्नुपर्ने कामहरुको अध्ययन गरी सरकार र नीति निर्माण तहसम्म पु¥याउन पनि विशेष अभियानले महत्वपूर्ण अवसर सिर्जना गर्न सक्छ । हालै सम्पन्न केन्द्रीय कार्यसमितिले समग्र पार्टी, देश र जनताको पक्षमा गरेको महत्वपूर्ण निर्णयहरुलाई पार्टी सङ्गठन भित्र व्यापक रुपमा प्रचार गर्न, केन्द्रीय समितिका निर्णयहरु बमोजिम सबै तहका सङ्गठनले कार्यक्रम गर्न, जनताको पक्षमा भए गरेका र गर्नुपर्ने कामहरुको बारेमा पनि स्पष्ट धारणा बनाउन अहिलेको विशेष अभियान सार्थक हुनेछ ।

केन्द्रिय समिति बैठकमा महत्वपुर्ण निर्णयहरु भएका छन् । पार्टी रुपान्तरण र पुस्तान्तरणको विषय र नेतृत्व परिवर्तनको कुराले गुट उपगुटको दरार देखिने अवस्था देखिंदै आएकोमा ती सबै असहमतिका आवाजहरु केन्द्रीय समिति बैठकमा साम्य भएर पूर्ण सहमतिमा बैठकका निर्णयहरु सार्वजनिक भएका थिए । केन्द्रीय समितिको निर्णयमा देखिएको एकताको सन्देश अहिले देशभरको सङ्गठनको आन्तरिक बैठकले मनन् गर्नु पर्दछ ।

नेपाली काँग्रेस लोकतान्त्रिक पद्दतिबाट अघि बढ्ने राजनीतिक दल हो । पार्टीको आफ्नै विधान र व्यवस्था छ । विधान सम्वत् रुपमा १४ औं महाधिवेशनले दिएको नेतृत्व र कार्यक्रम आम काँग्रेस जनको साझा नेतृत्व र कार्यक्रम हो र हुनुपर्छ । महाधिवेशन पछि कतैकतै सुनिने नेतृत्व परिवर्तन, पुस्तान्तरण र परिमार्जनका आवजले काँग्रेसलाई बलियो र सुदृढ होइन क्रमशः कमजोर खण्डित गराउँछ । काँग्रेस रुपान्तरण र पुस्तान्तरणको विषय सञ्चार माध्यममा नभएर महाधिवेशनको छलफल कक्षमा उठ्नु पर्दछ । छलफल र निर्णय हुनु पर्दछ । यसको उचित समय, स्थान र अवसर महाधिवेशन हो । अहिले विद्यमान १४ औं महाधिवेशनको नेतृत्व र कार्यक्रम अहिलेको काँग्रेसको मूल कार्यान्वयन पक्ष हो । यसको विरोध गरेर आफै कमजोर हुने अवस्था आउँछ । अहिलेको विचलनको कारक तत्व पनि यही नै हो । महाधिवेशनपछि देखिएका यस्ता विषयहरु केही हदसम्म हालै सम्पन्न भएको केन्द्रीय समितिको बैठकबाट निरुत्साहित भएका छन् । यसपटकको केन्द्रीय समितिको बैठक प्रत्यक्ष रुपमा सञ्चालन भएर थप काँग्रेसले लोकतान्त्रिक विधिलाई प्रदर्शन गरेको छ । बैठकमा थुप्रै तितामिठा सन्दर्भहरु देखिए । पक्ष विपक्षका कुराहरु देखिए । तर अन्त्यमा छलफल र निर्णयको तहसम्म पुग्दा सबैमा एकमत र सहमति बन्यो । त्यो सहमति देश र समग्र जनतको हित र पक्षमा देखियो । यसै निर्णयलाई जनतको पक्षमा कार्यान्वयन गराउन पनि तहगत रुपमा सञ्चार गर्न काँग्रेसले शुरु गरेको विशेष अभियान सार्थक देखिन्छ ।

नेपाली कॉग्रेस परिवर्तनको स्पष्ट दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रमका साथ सबैभन्दा सङ्घर्षशील, परिष्कृत र लामो इतिहास बोकेको राजनीतिक पार्टी नेपालको समग्र भूभागमा फैलिएको छ । देशका सम्पूर्ण जातजाति, भाषाभाषी, वर्ग, लिङ्ग, धर्म, संस्कृति, भेषभुषा, पेशाकर्मी, बिपन्न, सिमान्तकृत तथा विकास र प्रगतीका लागि समर्पित पार्टी हो । आन्तरिक अभियानको मुख्य उद्देश्य नेपाली कॉग्रेसले समाज परिवर्तनमा गरेका राम्रा कामको प्रचार गर्ने, कॉग्रेस सरकारमा हुँदा गरेका राम्रा कामको चर्चा गर्ने , सङ्गठन सुदृढीकरणका लागि आवश्यक कार्य गर्ने रहेको छ । देश परिवर्तन गर्नका लागि नेपाली कॉग्रेस पार्र्टीले गरेको इतिहास साक्षी छ, त्यसलाई पछ्याउदै अगाडि बढ्नु पर्ने आजको आवश्यकता हो । राष्ट्रियता, समाजबाद, लोकतन्त्रका जननी नेपाली कां‘ग्रेस हो । नेपालको संविधान २०७२, लोकतान्त्रिक गणतन्त्र नेपाल, समावेशीकरण लगायतका उपलब्धिहरुमा मुख्य नेतृत्व नेपाली कॉग्रेसको रहेको छ । नेपाली कॉग्रेसको सङ्गठनलाई सुदृढीकरण गर्नका लागि आजको यूग सुहाउँदो प्रविधिको प्रयोग गरी दुर दराजमा रहेका नागरिकहरुलाई पार्टी प्रति आस्था जगाउन आजको आवश्यकता रहेको छ ।

नेपाली कॉग्रेस पार्र्टीले सञ्चालन गरेको अभियान वडा पालिका तहदेखि जिल्लासम्म कॉग्रेसलाई बलियो बनाउने कोसेढुंगा सावित भएको छ । कॉग्रेस पार्र्टीलाई बलियो बनाएर अगाडि बढ्नको लागि भातृ संघ सङ्गठनहरुलाई बलियो बनाएर लान आवश्यक छ । ती संघ सङ्गठनलाई स्थानीय तहको प्रत्यक्ष सरोकारका कार्यहरुमा योगदान पु¥याएर जनताको मन जित्ने कार्य गर्नु आजको आवश्यकता हो । नेपाली कॉग्रेसको नीति, सिद्धान्त, दर्शनलाई आत्मा साथ गर्दै सम्पूर्ण पार्टी प्रति आस्था तथा विश्वास गर्नेहरुको साझा चौतारीको रुपमा अगाडि बढाउने सन्देश यस अभियन दिने सकिनेछ । बि.पि. कोईरालाको सिद्धान्तलाई आत्मा साथ गर्दै अघि बढ्नु पर्ने, स्थानीय जनताको सुख दुःखको चौतारी बन्दै आपसी भाइचारा, विश्वबन्धुत्व कायम राख्दै कमीकमजोरीहरुलाई निवारण गर्दै पार्टी सुदृढिकरण गर्नु आवश्यक छ । कॉग्रेस पार्टी जनताका जनजिविका बिषय, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन पारदर्शिता, सामाजिक समावेशीकरण सवालहरुलाई जनसमक्ष पु¥याउन, गुनासो तथा सुझावहरुलाई ब्यवस्थापन गर्ने रणनीति बनाउने यूवा पुस्ताको आशा र भरोसाको केन्द्र विन्दु बनाउने, रोजगारी सृजनाका लागि कार्य गर्न, सन्तुलित, सामजकेन्द्रित, जनतामुखी कार्यहरु गर्ने अभिप्रेरणा प्रदान गर्ने माध्यमको रुपमा यो अभियानले सार्थकता पाउने विश्वास गरिएको छ ।

(लेखक नेपाली काँग्रेस नुवाकोटका सचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top