+
Search

ताजा अपडेट +

पपुलर +

कृषि विकास बैंकको ‘नेपाल स्क्यान एण्ड पे’

agriculture development bank qr scan
डबली खबर
३ साल अगाडी

काठमाडौँ – नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आबद्धतासहितको नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात भएको छ । यो सेवामार्फत भएको कारोबारहरूमा कुनै शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ ।

यो सेवाको सुरुवात पश्चात् कृषि विकास बैंकको मोबाइल बैङ्किङबाट नेपाल क्लियरिङ हाउस आबद्ध सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा सञ्चालकहरूको क्युआरमा कारोबार गर्न सहज भएको छ भने बैंकले नियुक्त गरेका विभिन्न ब्यबसायिक संघ संस्था तथा प्रतिनिधिहरूले सरल तथा सहज तरिकाले भुक्तानी स्वीकार गर्न सकिने भएको छ । यो सेवाबाट सङ्घीय सरकार तथा स्थानीय सरकारलाई सेवाग्राहीहरूले राजश्व लगायतका शुल्क समेत भुक्तानी गर्न सकिने भएको छ ।

बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरूका लागि यो सेवा निक्कै उपयोगी हुने बैंक श्रोतले जानकारी गराएको छ । शुक्रबार कृषि विकास बैंकको मुख्य कार्यालयमा भएको एक कार्यक्रमको बीच कृषि विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले संयुक्त रूपमा बैंकको मोबाइल बैंकिंगबाट कारोबार गरि उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

यो सेवाको सुरुवात पश्चात् कृषि विकास बैंकमा खाता रहेका व्यावसायिक संस्थाहरूको खातामा बैंक तथा नेपाल क्लियरिङ हाउस आबद्ध सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा सञ्चालकहरूको मोबाइल एप्लिकेशन मार्फत सहज तथा सरल तवरले कारोबार गर्नसकिनेसुविधा रहेको र यस्ता कार्यले भुक्तानी कारोबारको कारोबार लागतको न्यूनीकरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए । उक्त कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालनमा ल्याएका विभिन्न सेवाहरू बैंकका विभिन्न डिजिटल सेवाहरूसँग आबद्ध गरेमा बैंकले प्राप्त गर्ने अवसरको बारेमा चर्चा गरे ।

सो कार्यक्रममा बैंकका उच्चपदस्थ अधिकारीहरू र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका अन्य अधिकारी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ