२०८१, २२ बैशाख शनिबार

मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री

डबली खबर     बैशाख ११ २०८० १९:०३

puspa kamal dahal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताएका छन् । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका छन्।

सो अवसरमा प्रधानमन्त्रीले भने, ‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।’

उनले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको उल्लेख गर्दै अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिवद्ध बनाउन सञ्चार क्षेत्रको सधै रचनात्मक आलोचना आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले सञ्चार माध्यम आम नागरिक र सरकारका समेत आँखा र कान भएको बताउनुहुँदै यसले गरिहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्ने बताए। राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीद्वारा व्यक्त मन्तव्यकाे पूर्णपाठः

अध्यक्षज्यू,
विशिष्ट अतिथिज्यूहरू,
अतिथि ज्यूहरु
उपस्थित आदरणीय महानुभावहरू ।

नेपाल रिपब्लिक मिडियाको इतिहाससँग मुलुकको राजनीतिक परिवर्तन समेत जोडिएको छ । देश राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकै कारण यसले आफ्नो नाममै ‘रिपब्लिक’ जोडेको छ ।

यस मिडियाबाट प्रकाशित नागरिक दैनिक, रिपब्लिका डेलीलगायतका प्रकाशन अग्रणी रहेका छन् । मुलुकको एउटा भरपर्दो सञ्चार संस्थाले आज आफ्नो १५ औं वर्ष प्रवेशलाई उत्सवको रुपमा मनाउँदा मलाई खुसी लागेको छ ।

रिपब्लिक मिडियाले वर्षेनी आफ्नो वार्षिकोत्सवको अवसर पारेर समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्ति व्यक्तिलाई खोजेर ‘नागरिक सम्मान’ को जुन परम्परा बसाएको छ, यसले समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका खेलिरहेका व्यक्तिहरूलाई प्रोत्साहन मिलेको छ ।

आम नागरिकलाई थप अधिकार सम्पन्न गरेको २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले हामीलाई अधिकार मात्र होइन कर्तव्य पनि दिएको छ । त्यसैले कर्तव्य पालनाका निम्ति पनि यस प्रकारको कार्यक्रमले हामी सबैलाई झक्झक्याएको महसुस भएको छ ।

खासगरी २०५२ सालमा सुरु भएको माओवादी जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, त्यस अघि र पछिका सबैजसो आन्दोलनमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदानकै कारण परिवर्तन सम्भव भयो र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सक्यो भन्न मलाई कत्ति पनि अप्ठ्यारो लाग्दैन । यो कुरा मैले भूमिगत जीवनबाट सार्वजनिक हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा समेत व्यक्त गरेको थिएँ ।

मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व हो । नेपालमा पत्रकारिता क्षेत्रले परिवर्तनलाई आत्मसात गरेको छ । हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।

लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शाषन प्रणाली हो । यहाँ जनताको आवाज सुनिन्छ । त्यो पारदर्शिता र जनताप्रतिको जवाफदेहीताका कारण यसका गल्ती पनि खुल्छन् । ती गल्ती र कमि कमजोरीप्रति निर्मम बन्दै कमि कमजोरी सुधारेर अघि बढ्नु हाम्रो दायित्व हो । यसको अर्थ केही साना तिना कमजोरी रहे भन्दैमा यो व्यवस्था काम नलाग्ने भयो भन्ने होइन । यसलाई अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिवद्ध बनाउन संचार क्षेत्रको सधै रचनात्मक आलोचना आवश्यक हुन्छ ।

म अलिकति सञ्चार माध्यमको भूमिकाका बारेमा चर्चा गर्न चाहन्छु । सञ्चार क्षेत्रले राज्यका सबै निकाय खासगरी सरकारका काममा निरन्तर ध्यान दिइरहेको हुन्छ । यसरी चनाखो बस्ने सञ्चार माध्यम नै यथार्थमा राष्ट्रका सहयोगी हुन् । यस्ता सञ्चार माध्यम आम नागरिक र सरकारका समेत आँखा र कान हुन् । हामीले गरिहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्छ । राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको छ ।

वर्तमान सरकारले सञ्चार क्षेत्रको विगतको भूमिकालाई ध्यानमा राखेर मात्र होइन आजको दिनमा पनि आम नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको समेत उच्च कदर गरेको छ । सरकार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि प्रतिवद्ध छ । प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी कुनै पनि कानून बनाउने पक्षमा छैन । पत्रकारिता क्षेत्रको योगदानका आधारमा पनि यसको आलोचनात्मक पक्षलाई सशक्त तुल्याउन सरकारले गर्नुपर्ने सबै कानुनी र अन्य आवश्यक व्यवस्थाको तयारी गरिरहेको छ ।

सरोकार पक्षकै सहभागितामा कानूनको मस्यौदा बनाउन मैले निर्देशन दिएको छु । यसअघि नै संसदमा पुगेका सञ्चारसम्बन्धी केही विधेयकलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सरकार प्रतिवद्ध छ । यसैगरी सरोकार पक्षको सहभागितामा आम सञ्चार विद्येयक, मिडिया काउन्सिल बिद्येयक सहितका कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ । ती विद्येयकलाई मुलुकको पत्रकारिता क्षेत्रलाई थप बलियो बनाउने, पत्रकारिताको संस्थागत विकास गर्ने, प्रेस स्वतन्त्रता र पत्रकारको हितलाई ध्यान दिने गरी अघि बढाइने छ ।

सरकारले मस्यौदा गरेका हरेक कानूनलाई वेब साइटमा राखेर सार्वजनिकरुपमा सुझावका लागि आब्हान गर्ने र प्राप्त सुझावलाई समेटेर संसदमा विद्येयक दर्ता गर्ने वातावरण मिलाइदैंछ । यसमा यहाँहरुको पनि साथ र सहयोग मिल्ने मैले अपेक्षा गरेको छु ।

सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने नीति लिएको छ । पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित संचार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढंगले पहल भइरहेको छ । सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत् सबै मिडियाले पाउने गरी समानुपातिक ढंगले वितरण गर्ने व्यवस्था मिलाइदैछ । जेष्ठ पत्रकार, अपाङ्ता भएका पत्रकारहरुका लागि जिवन निर्वाह भत्ताको व्यवस्था मिलाइदैछ । मिडिया उद्योग रोयल्टी र कर जस्ता दोहोरो कर प्रणालीले समस्यामा परिरहेको विषय मेरो जानकारीमा आएको छ । रोयल्टी र कर बुझाएमा जरिवाना छुटको व्यवस्थाका लागि प्रक्रिया अघि बढेको छ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखेर एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पनि पहल गरिँदै छ ।

यो सरकारबाट सञ्चार क्षेत्रलाई कुनै किसिमले अप्ठ्यारो पार्ने काम हुँदैन । सञ्चार माध्यम जति स्वतन्त्र र खुला भए त्यति नै तिनले मुलुकलाई मार्गदर्शन गर्न सक्छन् भन्ने मेरो मान्यता हो ।

भूकम्प, कोभिड– १९ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक कारणले समग्र मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । त्यसको प्रभाव सञ्चार जगतलाई पनि पर्ने नै भयो । सरकारले अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गरिरहेको छ । म प्रधानमन्त्री भइसकेपछि देश र जनताको अवस्थामा महत्वपूर्ण सुधार ल्याउन केही सकारात्मक पहलहरु भइरहेका छन् ।

मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै अर्थतन्त्र सुधारसम्बन्धी केही नीतिगत निर्णय गरेको थिएँ । त्यसको प्रभाव हाम्रो अर्थतन्त्रमा क्रमशः पर्दै गएको र अर्थतन्त्रमा सुधार आउन थालेको देखिन्छ ।

नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित छ । सरकारको प्रयासबाट सामाजिक–आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएका छन् । शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ । विद्यार्थीको पढाई सकेर जाँच दिने बेलासम्म पाठ्यपुस्तक नपाउने अवस्था अन्त्य भएको छ । समयमै सबै ठाउँ पुस्तकहरु पुगेका छन् । स्वास्थ्य सुविधाहरुमा जनताको पहुँचमा वृद्धि भएको छ ।

यसैगरी विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजनक छ । सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ, विप्रेषणमा सुधार आएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, अर्थतन्त्र विघटनको दिशातिर जान्छ कि भन्नेखाले आशंका निवारण भएको छ । समग्रमा हेर्दा हामी संकटबाट सुधारको बाटो हिँड्दैछौँ भन्ने प्रष्ट चित्र देखिएको छ । यो हाम्रा लागि खुसीको कुरा हो ।

संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय र सुशासनको लक्ष्यमा दृढतापूर्वक लागिरहेको वर्तमान सरकार विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा छ । मैले दृढताका साथ संकल्प गरेको छु– यसपटक नराम्रो काम गर्दिनँ, गर्न पनि दिन्नँ ।

जनताका पीडा, समस्या र अपेक्षाबारे म जानकार मात्र होइन, सचेत पनि छु । यहाँहरु जस्ता प्रतिष्ठित सञ्चारमाध्यमहरू समस्याको उजागर गर्ने, त्यसको विश्लेषण गर्ने र आलोचनात्मक रूपमा सम्प्रेषण गर्ने जिम्मेवारीमा त हुनुहुन्छ नै, साथसाथै सरकारले गरेका सकारात्मक प्रयास र प्राप्त उपलब्धिलाई जनसमुदायमा सम्प्रेषण गरेर ‘देशमा केही हुन्छ, हामीले गरे सकिन्छ, देश निर्माणको जिम्मेवारी हामी सबैको साझा हो’ भन्ने विचार र भावनासमेत सम्प्रेषण गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।

अन्त्यमा, नेपाल रिपब्लिक मिडिया, यसका सञ्चालक, सहकर्मी र पत्रकारहरूलाई वार्षिकोत्सवका उपलक्ष्यमा हार्दिक बधाइ दिन चाहन्छु । कार्यक्रममा सम्मानित र पुरस्कृत नागरिक नायक र संस्थाका उत्कृष्ट सहकर्मीहरूलाई समेत बधाइ ।

धन्यवाद ।

(११ बैशाख २०८०, साझ ५ः३०)

(नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top