नुवाकोट – राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको संगठन स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को निर्वाचनमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशुली बहुमुखी कलेजको निर्वाचनमा संयुक्त प्यानलको समुह विजयी भएको छ ।
मतगणनाबाट नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त समुह विजयी भएको हो ।
निर्वाचनबाट नेविसंघका रविन दाहाल ३४१ मत प्राप्त गरी सभापति पदमा निर्वाचित भए । उनी नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन नुवाकोट सचिव हुन् ।
यस्तै, सचिवमा अनेरास्ववियु क्रान्तिकारीका राजेन्द्र पनेरुले ४३० मत र कोषाध्यक्षमा अनेरास्ववियूका मनोज पौडेलले ३४० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सदस्यहरुमा अश्विन रिमालले ३५१, सन्तोष पन्तले ३२६, सुप्रिया पौडेलले ३०५, जनक भट्टले ३४२, अस्मिता पौडेलले ३०४, सञ्जिता रिमालले ३११ र प्रदिप ढुङ्गानाले २९४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
प्रत्यक्ष निर्वाचनमा निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएको रिजन प्रधानले सभापतिमा १७३ मत र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका फैसल दिनले १६८ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फ २८६ मत सहित नेविसंघ पहिलो विद्यार्थी संगठन भएको छ । निर्वाचनमा नुवाकोट क्याम्पसमा अध्ययनरत १ हजार १४३ विद्यार्थी मतदाता रहेकोमा ७४२ मत खसेको थियो । नुवाकोट आदर्श वहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।
यसैगरी, त्रिभुवन त्रिशुली वहुमुखी कलेजको स्ववियु निर्वाचनमा संयुक्त प्यानलतर्फ नेविसंघका किरण मगराती निर्वाचित भए । आईतबार साँझनै सम्पन्न मतगणनाबाट मगरातीले १४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका समिर तामाङले ८३ मत मात्र प्राप्त गरेका छन् ।
सचिवमा रिसाल तामाङले १६३, कोषाध्यक्षमा उर्मिला तामाङले १५१, शान्तबहादुर तामाङले १५२ मत प्राप्त गरी विजयी भएका छन् । सदस्यहरुमा सन्तोषी सुर्खेतीले १४०, अशोक अधिकारीले १५०, सजना खातीले १४२ र तुलसा अधिकारीले १२३ मत प्राप्त गरी विजयी भएका छन् ।
समानुपातिकतर्फ ११४ मत सहित नेविसंघ पहिलो विद्यार्थी संगठन भएको छ भने अनेरास्ववियु ६० मतसहित दोस्रो भएको छ ।
त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तय गरेको थियो ।
प्रतिक्रिया