२०७९, १२ असार आईतवार

जनजाति संस्कृतिमा श्रीरामको फरक स्वादयुक्त अनुसन्धानमूलक पुस्तक

रमेश निरौला     असार ९ २०७९ १२:३१

ramesh niraula
Diyo Pathshala Montessori

नेपाली जनजाति र संस्कारमा जति धेरै विविधता छ, त्यसको मिठास पनि त्यति नै बढी पाइन्छ । जनजातिका खानपानमा मात्र हैन, जन्मदेखि मृत्युसम्मका संस्कारमा समेत अनौठा प्रचलन फेला पर्छन् । पृथक स्वाद र चासोयुक्त संस्कृति भए पनि यी विषयमा अनुसन्धाताहरूको दृष्टि भने कमै गएको यथार्थ छ । दृष्टि कम किन पनि भनियो भने यी जातजातिका कतिपय कुरा आम पाठकसम्म अझै आइपुगेका छैनन् । विश्वविद्यालयका कतिपय विभागले गर्ने परम्परागत अनुसन्धान पद्दतिले नेपालका गुमनाम संस्कृतिलाई बाहिर यथेष्ट उजागर गर्न नसकेको अवस्था छ । यसका लागि स्वतन्त्र अनुसन्धान आवश्यक पर्छ । विश्वविद्यालयमा लेखिने सोधपत्रका आफ्नै सीमितता हुन्छन् । अनुसन्धाताहरूका पनि आफ्नै आर्थिक विवशता र अनुसन्धान पद्दतिमा प्रष्टताको अभाव रहेको पाइन्छ । यी कारणले गर्दा नेपालका जनजातिहरू माथिको अध्ययन औपचारिक मात्र हुने गरेको अवस्था छ ।

विश्वविद्यालयभित्र अध्यापन/अनुसन्धानमा संलग्न नदेखिएका तर बढी साहित्यिक र अझ राजनीतिक व्यक्तित्वका रूपमा देखिने श्रीराम श्रेष्ठले लामो समयदेखि जनजाति संस्कार संस्कृतिमाथि अनुसन्धान गर्दै आएको पाइन्छ । वि.सं. २०७७ मा प्रकाशित नेपाली जनजातीय संस्कार र संस्कृति पुस्तकले कतिपय पूर्व प्रकाशित सामग्रीसमेत सङ्कलन गरेर नेपालका रैथाने जातिहरूबारे गहन अध्ययन गरेको देखिन्छ । बनोट, भाषा, संस्कार, पेसा र मौलिक समाज व्यवस्थाका कारण जनजातिहरू अन्य समुदायभन्दा फरक छन् । आफ्नै भाषा, संस्कार, बनोट, परम्परागत पेसा र सामाजिक संरचनाका कारण कतिपयका संस्कार एक अर्कासँग मिलेर पनि उनीहरू एकै होइनन् भन्ने श्रीरामको ठम्याइ पुस्तकको उल्लेखनीय पक्ष हो ।

नाकको बनोटलाई आधार मानेर भोट (मङ्गोल) बाट आएका र भारतबाट आएका भनी कतिपय पश्चिमा अनुसन्धाताले गरेको वर्गीकरणलाई मिथ्या सावित गर्न श्रेष्ठले लोकोक्ति, गीत, नृत्य, जन्म, मृत्यु संस्कारजस्ता विविधतालाई व्याख्या गर्न पटक पटक मथिङ्गल खियाएको पाइन्छ । आठपहरिया राई र धिमाल समयक्रममा छुटेका भन्ने जनश्रुति गलत भएको दावी श्रेष्ठले प्रस्तुत गरेका छन् । आठपहरिया राईका सत्र थर भएको पत्ता लागेको कुरा श्रेष्ठले सन्दर्भसहित प्रस्तुत गरेका छन् । धिमालको जातीय सम्बन्ध किरातीहरूसँग नजिकको रहेको आधारमा आठपहरिया राई र धिमाललाई दाजुभाइ भन्न नहुने समेत उनको दावी रहेको पाइन्छ ।

अकाल (आत्महत्या?) मा मरेको मान्छेलाई अपमानपूर्ण विदाइ र दाहसंस्कारकै दिन काजक्रिया सकिदिने प्रचलन आठपहरियाबाहेक नेपालका अन्य जातजातिमा सायद सुनिदैन । यस्ता ‘भर्जिन’ तथ्य खोतल्न श्रीरामले लामै समय खोजीमेली गरेको अनुमान गर्न सकिन्छ । अरूको जग्गमा मरेको लास नगाड्ने वा मृतक शरीर गाड्न आफ्नै जग्गा चाहिने आठपहरिया राई आधुनिक भौतिकवादी सहरी राज्य व्यवस्थामा कसरी अस्तित्वमा रहन सक्लान् ? यो विषयमा आठपहरिया अभियन्ता र राज्य तहका सरकारहरूले सोच्ने बेला भइसकेको छ ।

कथन र जनश्रुतिबाट सुरु भएका श्रीराम श्रेष्ठका कतिपय लेख जनसंख्या, संस्कार, संस्कृति, भाषा, पेसा (परम्परागत), जन्म, विवाह र मृत्यु संस्कारसम्मको वृहत् खोजी र निश्कर्ष खण्ड पढ्दा उनको साहित्यिक कलम कतिपय ठाउँमा हावी भएको प्रतीत हुन्छ । लेख (हरू) अनुसन्धानको संरचना परिचय, सारांश, उद्देश्य, समयावधि, पूर्वकार्य समीक्षा, विश्लेषण, निश्कर्ष, सन्दर्भसूचीजस्ता प्राविधिक पक्षमा सीमित छैनन् । परम्परागत अनुसन्धानका अवयवको अनुशासित प्रयोग नगरिएको तर आफ्नै पद्दति विकास गरेर उनिएको एउटा बिस थुङ्गे मालाको रूपमा यो पुस्तक आइपुगेको छ । अनुसन्धाता श्रीराम श्रेष्ठ अनुसन्धानको प्राविधिक दायराबाट कतिपय अवस्थामा बाहिर निस्किएका छन् । एउटा साहित्यकार अनुसन्धाताको रूपमा उनको यो विशेषता भेटिन्छ ।

नेवारी समुदायभित्र मृत्यु वा श्राद्धजस्ता संस्कारमा चेली खलकमा सकेसम्म नजाने र जानै परे नखाने प्रचलन रहेको छ । कुमालहरूको संस्कारमा भने काजक्रिया र श्राद्धमा मावली खलकलाई डाकी सत्कारपूर्वक भोज खुवाउनु पर्छ । यस्ता अचम्मका तथ्य श्रेष्ठ आफैँले पत्ता लगाएर पुस्तकभरि धेरै ठाउँमा समेटेका छन् ।

महिला स्वतन्त्रताको अब्बल उदाहरण रहेको गुरुङ समुदायमा परम्परागत रूपमा नै महिला पनि मलामी जाने प्रचलनका कारण समानताको बराबरी देखिन्छ । बच्चा नजन्मिएसम्म विवाह भएको घरमा स्थायी रुपले नबस्ने गुरुङ महिलाको निर्णय समाजमा मान्य छ । सिन्को पाङ्ग्रो गरी दोबाटोबाट सम्बन्ध बिच्छेद गर्ने गुरुङ परम्परा सांकेतिक र मार्मिक छ ।

साङ्गीतिक माहोलमा रमाउने चेपाङ समुदाय संयुक्त परिवारमा बस्ने र आमालाई नसोधी गरेको काम शुद्ध हुँदैन भन्ने मान्यता राख्छ । यो महिला प्रधानताकै समुदाय हो । तामाङसँग संस्कृति हु–बहु मिल्ने चेपाङ कसरी हिन्दु भए खोजीको विषय हो । नेपाली जातजाति (अध्ययनमा समेटिएका बिस जाति) को साझा पहिचान गीत सङ्गीत वा नृत्य हो । आफ्नै मौलिकता भएका कौरा, मारुनी वा सोरठी हुन् अथवा झाम्रे, झुमरा वा पाउँदुरे नाच अति विशिष्ट छन् ।

गुरुङको जस्तो रोदिघर हुने मगर जातिको प्रेमसम्वन्धी संकलित एक गीत निकै कर्णप्रिय छ-

केटा: टुप्पोमै घुमेको त्यो मोहोरी त फेदैमा रह्यो धार
पातली नानीलाई नजर लाउन पाए मै गर्थेँ नमस्कार
सेरोफेरो डम्पैको घेरो दाइने हात सलाम छ मेरो

केटी: अड्डामा बस्ने बहिदारी दाइको कानैमा कलम छ
ढल्केर हिँड्ने नक्कले दाइलाई दिनैको सलाम छ
दाहिने हात सलाम दिने ज्यानले लिने कि नलिने (पृ.३२४) ।

नेपालमा आफ्ना परम्परागत संस्कृति कसले संरक्षण गरिरहेछ ? उत्तर यही पुस्तक हो । पुस्तकमा शीर्षकले भनेजस्तो संस्कार र संस्कृतिका कुरा एकोहोरो कहिएको छैन । धर्म, भाषा, आदिम थलो, थरहरू, शब्द र वाक्यहरू पुस्तकका गहना हुन् । यस्ता शब्द र वाक्य खोजीमा लेखकको ठुलो परिश्रम लागेको अनुमान गर्न सकिन्छ ।

अनुसन्धान गरिएका मध्ये जनजातिमा सबैभन्दा बढी जनसंख्या भएको मगर जाति (१८,८७,७३३) र सबैभन्दा कम जनसंख्या भएको राउटे जाति (६८१) सहित बिसओटा जातिबारे पुस्तकमा विस्तृत अध्ययन गरिएको छ । तीनदेखि चार अङ्कमा जनसंख्या भएका पाँच जातिहरू (राउटे ६८१, बलामी २८००, हायु २९२५, मेचे ४८७६ र बराम ८१४०) लोपोन्मुख छन् । लोपोन्मुख जातजातिलाई राज्य तहबाट के कस्तो ध्यान दिइएको छ र थप के आवश्यक छ भन्नेबारेमा लेखकले निष्कर्ष खण्डमा औँल्याएका छन् । नीति निर्माता, अभियन्ता, अनुसन्धाता र सहअस्तित्वको वकालत गर्नेका लागि यो पुस्तक श्रीरामको एक खण्ड (भाग) श्रीखण्ड हो । अरू खण्ड उनका नेपाली साहित्यिक रचनाका विविध संरचना र राजनीतिक रूप हुन सक्लान् ।

पन्ध्र लाख बढी जनसंख्या भएको तामाङ, सत्र लाखमाथि जनसंख्या भएको थारु र अठार लाखमाथि जनसंख्या भएको मगर जातिमा बढी विविधता हुने नै भयो । धेरै जनसंख्या भएका जातिमा बहुल संस्कृति र विविध संस्कारका कारण अध्ययन गर्नु बढी जोखिमपूर्ण पनि छ । तर श्रेष्ठले तुलनात्मक रूपमा ठुला जातजातिबारे सङ्क्षिप्त निष्कर्ष नदिएर एक सफल अनुसन्धाताको चतु¥याइँ प्रयोग गरेका छन् ।

प्राध्यापक प्रेम खत्रीले भूमिकामा भनेझैँ संस्कृतिको असली स्वरुप मोफसलमा छ । श्रीरामको प्रस्तुत कृतिले जनजातिका संस्कार र संस्कृति चुलाचौका, जन्म, मृत्यु, खानपान, चाडपर्व, भाषा र भेषमा जीवित रहेको प्रस्ट्याउँछ । चाखलाग्दो कुरा त अनुसन्धाता श्रेष्ठले लामो र निरन्तर खोजी गरे पनि समयलाई पर्खिएका छन् । बिसओटा जातिबारे अध्ययन गर्न लामो समय र परिश्रम अवश्य लाग्छ तर अनुसन्धानको अन्तिम नतिजा प्राप्त नभएसम्म प्रकाशनको हतारो नगर्नुले उनको परिपक्वता झल्किन्छ । साहित्यिक गाउँमा हतारमा झुल्किरहने श्रीरामको प्रस्तुत ग्रन्थ पाठकका लागि फुर्सदको फरक स्वाद हो ।

भएका तथ्यलाई वैज्ञानिक अध्ययन विधि, औजार र समयले बाहिर निकाल्नु अनुसन्धान हो । जनजातिका घरआँगन, उनीहरू रहने जङ्गल, खोला, पाखापखेरा र हिमाल टाकुराबाट सामग्री सङ्कलन र विश्लेषणमा एक मानिस किन अनवरत लागिरहन्छ ? यसको उत्तर पाँच सय भन्दा बढी पृष्ठको अनुसन्धान ग्रन्थ निकाल्ने बौद्धिक मोह हो । पुस्तक तुरुन्तै निकाल्न नहिच्किचाउने नेपाली लेखक वा सर्जकभन्दा अनुसन्धाता श्रीराम धेरै खारिएका लाग्छन् । प्रस्तुत पुस्तकमा श्रेष्ठको एकल मिहिनेत झल्कन्छ । सामान्य भाषा सम्पादन बाहेक ग्रन्थको सम्पूर्ण अधिकार श्रीराममै जान्छ । पुस्तक निकाल्न हतारिने सर्जक र ग्रन्थ निकाल्न नहतारिने अनुसन्धाता दुवैले यो पुस्तक पढेर आफ्नो धरातल भेट्न सक्नेछन् । महाकवि देवकोटा पढेर हुर्किएका कवि श्रीराम श्रेष्ठ रातारात महाकाव्य लेख्दैनन् । अझ बढी लेखेको कुरा परिपक्व नभएसम्म प्रकाशन गर्दैनन् । यो नेपाली साहित्यकारभित्रको देवकोटासँग नमिल्ने असङ्गति हो । बर्सेनि पुस्तक निकाल्ने नेपाली साहित्यकारहरूले श्रीरामबाट प्रकाशनका लागि नहतारिने प्रेरणा लिन सक्नुपर्छ ।

एक लाखभन्दा बढी शब्दको ‘भर्जिन खोजी’ गरिएको प्रस्तुत पुस्तक पाठक सामु आइपुगेको वि.सं. २०७७ मा नै हो । तर भावनात्मक कुरा भन्दा खँदिला विषयको सङ्ग्रह पढ्न पाठक कम अभ्यस्त छन् । ग्रन्थले बजारमा परिचर्चा, विवेचना र समीक्षा पाएको खासै पढिएन÷सुनिएन । पुस्तकमाथि विश्वविद्यालयका संस्कृति÷कला विभाग, सार्वजनिक बहसस्थल र डबलीहरूमा गोष्ठी, सेमिनार र खुला बहस आयोजना हुनु जरुरी छ । विश्वविद्यालयमा हुने सेमिनार, जर्नल साइटेसन, कार्यपत्र, थेसिस र पाठ्यक्रममा प्रस्तुत पुस्तकले जबर्जस्त प्रवेश पाउनुपर्छ । जबर्जस्त यसकारण पनि जरुरी छ कि उनलाई कतिपय कुरा नलेख्न जबर्जस्त दवाव दिइएको थियो (विषय प्रवेश गर्नुअघि…..२३) । यसो भएमा मात्रै समाजशास्त्र, मानवशास्त्र, संस्कृति, इतिहास, भूगोल, भाषाविज्ञान, साहित्य, दर्शन, ललितकला र अर्थशास्त्र विषयको अध्ययन अध्यापन पूर्ण होला । चर्चा गरिएका कम्तिमा दस विधाका विविध आयाममा पुस्तकले धारणा बनाउन सघाउँछ । विश्वविद्यालयका कक्षाकोठाहरूमा प्रस्तुत पुस्तकमाथि छलफल र सेमिनार चलाउनु विद्यार्थीमैत्री शिक्षण क्रियाकलाप ठहरिनेछ ।

नेपाली वाङ्मयका क्षेत्रमा बिसओटा अनुसन्धानमूलक लेखहरूको यो सङ्ग्रह एक सांस्कृतिक घर बनाउन आवश्यक सबै कच्चा पदार्थ भएको एक सङ्कलन हो । पुस्तकमा सङ्कलित तस्वीरहरु रङ्गीन भइदिएका भए अझ सुन्दर देखिने थिए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top