६ जेठ, नुवाकोट । समाज र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका सुर्तीजन्य पदार्थ र मदिरा सेवनको रोकथाम, नियमन तथा नियन्त्रणका लागि स्थानीय तहसँगको समन्वयलाई तीव्र पारिएको छ । यसै सन्दर्भमा जेठ ५ गते मंगलबार जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजना र बेलकोटगढी नगरपालिकाको समन्वयमा एक विशेष पैरवी बैठक भएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, स्थानीय स्वास्थ्यकर्मीहरू र विद्यालय नर्सहरूसहित कुल ४८ जना सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको कार्यालयका प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिईन् ।
बैठकमा सुर्तीजन्य पदार्थ र मदिराको वर्तमान अवस्था, यसले व्यक्ति, परिवार र सिंगो समाजमा पारेको नकारात्मक प्रभावका साथै नसर्ने रोगहरूको बढ्दो जोखिमका विषयमा अन्तरक्रिया गरिएको उनले बताईन् ।
बैठकमा नेपालमा कुल जनसंख्याको लगभग २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको र करिब २०.८ प्रतिशत मानिसहरू मदिरा सेवनकर्ता रहेको तथ्याङ्कलाई मध्यनजर गर्दै यसको प्रयोग दरमा कमी ल्याउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।
कार्यक्रममा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम सार्वजनिक स्थलहरूमा धूम्रपान र सुर्ती सेवन निषेध गर्ने कानुनी प्रावधान र यसको उल्लंघन गरेमा हुने जरिवानाका विषयमा पनि छलफल भएको थियो ।
विशेष गरी शिक्षण र स्वास्थ्य संस्थाहरू, बाल कल्याण गृह र सरकारी कार्यालयहरू जस्ता सार्वजनिक स्थलहरूबाट कम्तीमा १०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने कानुनी प्रतिबन्धलाई कडाइका साथ लागू गर्न सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसका साथै १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नहुने र चुरोट-बिँडी फुटकर रूपमा बिक्री गर्न नपाइने नियमलाई व्यवहारमा उतार्न स्थानीय अनुगमनलाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
पैरवी बैठकको समापन गर्दै आयोजक तथा स्थानीय जनप्रतिनिधिहरूले सुर्तीजन्य पदार्थ र मदिरा सेवन गर्ने व्यक्तिहरूमा व्यवहार परिवर्तन ल्याई रोग तथा मृत्युदर न्यूनीकरण गर्नका लागि विद्यालयस्तर र समुदायस्तरमै सचेतनाका कार्यक्रमहरू थप प्रभावकारी रूपमा अगाडि बढाउने साझा संकल्प व्यक्त गरेका छन् ।
कार्यक्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत सजनी बासँ श्रेष्ठले सुर्तीजन्य पदार्थ र मदिरा सेवनको रोकथाम, नियमन तथा नियन्त्रण सम्बन्धि प्रस्तुतिकरण दिएकी थिईन् ।

प्रतिक्रिया