विदुर – नुवाकोट जिल्ला अदालतका जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, प्रभावकारी, विश्वश्नीय र मर्यादित बनाउन राजनीतिक दल र मतदाताहरूलाई आग्रह गरेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लंक्षितगर्दै निर्वाचन आयोग र नेपाल कानुन समाजले विदुरमा आज आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारिता कार्यन्वयन र सरोकारवालाहरुको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा न्यायाधीश लुइँटेलले उक्त अनुरोध गरेका हुन् । भयरहित वातावरणमा मतदान गर्न सकोस् भनी निर्वाचन आचारसंहिता पालना गर्नु सबै उम्मेदवार, राजनीतिक दल र मतदाताहरुको रहेको बताए ।
“आचारसंहिताले अन्तर्राष्ट्रिय मुल्य, मान्यता अनुरुप मतदाताहरु नागरिकको राजनीतिक अधिकारहरुलाई सुनिश्चित गर्नका लागि हाम्रा संबिधानले पनि राजनैतिक अधिकार सुनिश्चितता गर्नको लागि हामीले गरेका प्रतिबद्धता, अठोट र कार्यन्वयनका लागि निर्वाचन ऐन गर्नुपर्ने र निर्वाचन सम्पन्न गर्नुपर्ने त्यो प्रयोजनका लागि केहि आचरण र व्यवहार कानुनमा लेख्न पनि नमिल्ने र त्यसलाई लिपिबद्ध रुपमा बनाउनुपर्ने कारणले गर्दा विगतका चुनाव र सञ्चालन गर्दै आईरहेको चुनावमा पनि आचारसंहिता रहँदै आईरहेको छ, सबै सान्दर्भिकतामा पनि परिष्कृत बनाउदै आईरहेको छ ।”
आचारसंहिता निर्वाचन आयोगले जारी गरेतापनि आचारसंहिताको अवनत्व सबैले लिनुपर्ने बताए । एकअर्कालाई आरोपप्रत्यारोपभन्दापनि आयोग र यसका सरोकारवालाहरुले सहि ढंगले भूमिका निर्वाह गर्नु सबैको बाध्यता, कर्तव्य र दायित्व हो । आचारसंहिताले कहिले पनि अधिकार सिर्जना गर्दैनन् । सबैले आयोगले लागू गरेको आचारसंहिताको अवनत्व लिनुपर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले आचारसंहिताले निर्धारण गरेको खर्च सीमाभन्दा पनि निर्वाचनमा खर्चरहित वातावरण सिर्जना गर्नुपर्ने बताए । निर्वाचनमा मतदाताको मतलाई बदरबाट हुन जोगाउनको लागि मतदाता शिक्षामार्फत् सहि तरिकाले मतदान गर्न सिकाउनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनमा सरकारी, सार्वजनिक अधिकार, शक्ति, स्रोत र साधनको दुरुपयोग नहोस् भनि आचारसंहिता लागू गरेको बताए । निर्वाचनमा जनताले सचेत रुपमा विवेक प्रयोग गर्ने वातावरण कुनै पनि रोकावट गर्न नहुने लोकतन्त्रको सुन्दर पक्ष रहेको उनले बताए ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सहज बनाउँदै निर्वाचनको उपयुक्त वातावरण बनाउने उद्देश्यले निर्वाचन आयोग र नेपाल कानून समाजको संयुक्त आयोजनामा द एशिया फाउण्डेशनको सहयोगमा निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सातवटै प्रदेशको १४ जिल्लामा आयोजना गरिरहेको छ ।
कार्यक्रममा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताका प्रमुख विषयहरुमा सरोकारवालाहरुको भूमिका र निर्वाचन आचार संहिताको कार्यान्वयन तथा अनुगमनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकमी तथा सुरक्षा सम्बद्ध कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भातृ संगठनले मान्नुपर्ने निर्वाचन आचारसंहिता बारे प्रस्ट पारे । यस्तै, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता र पर्यवेक्षण संस्था तथा पर्यवेक्षकहरुको आचारसंहिता विषयक जानकारी गराएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले स्थानीय सरकार निर्वाचनको खर्च र प्रचारप्रसारबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम राजनैतिक दलका नेता, उपभोक्ता समाज, नागरिक समाज, व्यवसायी लगायत सरोकारवालाहरुले स्थानीय निर्वाचनको लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालनको साथै निर्वाचनको आचारसंहितापालना सबै राजनैतिक दल, मतदातालगायत आयोगले तोकेको अन्य निकाय वा व्यक्तिले पनि आचारसंहिता पालना गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया