+
Search

ताजा अपडेट +

पपुलर +

शिवपुरीको बजेट ५० करोड २६ लाख १३ हजार, सिंचाई, सञ्चार, शिक्षा, खेलकुद प्राथमिकतामा

8th assembly of shivapuri rural municipality
डबली खबर
४ साल अगाडी

नुवाकोट – आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै शिवपुरी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले पूर्वाधार निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

गाउँपालिकामा कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने, व्यवसायिक कृषकहरुलाई उत्प्रेरणा दिने, प्रत्येक वडालाई कृषि तथा पशुपन्छी सेवा केन्द्रको रुपमा विकास गर्ने, नीजि क्षेत्रसँगको सहकार्यमा ‘एक वडा एक उत्पादन’को नीति अबलम्बन गर्ने, गाउँपालिकाभित्रको पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने, आवश्यकता अनुसार नयाँ सहकारी दर्ता गर्ने, चालू अवस्थामा रहेका सहकारीसँग समन्वयात्मक कार्यक्रम गर्ने, शिवपुरी कृषि रिंगरोड सम्पन्न गर्ने, भवन निर्माण बाँकी रहेका वडामा वडा भवन निर्माण सम्पन्न गर्ने नीति लिइएको छ ।

शिवपुरीमा स्थायी घर भई विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गर्ने लक्ष्य राखिएको छ । यसका साथै सिंचाई, सञ्चार, शिक्षा, खेलकदु क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले कोभिड-१९ संक्रमण नियन्त्रणमा खटिने सबै स्वास्थ्यकर्मीहरु प्रति आभार प्रकट गरे ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले आगामी आर्थिक वर्षका लागि ५० करोड २६ लाख १३ हजारको अनुमानित आयव्यय प्रस्तुत गरिन् । गाउँपालिकाबाट हुने आम्दानी तथा संघ र प्रदेशबाट प्राप्त बजेटबाट विभिन्न योजनामा विनियोजित बजेट विवरण उनले प्रस्तुत गरेकी थिइन् ।

बजेटमा चालू खर्च ५ करोड १८ लाख, वडा सञ्चालन खर्च ४२ लाख, वडा नं. २, ३, ५ र ७ को फर्निसिङका लागि २० लाख, सामुदायिक भवन निर्माणका लागि ४० लाख, मठ मन्दिर गुम्बा निर्माणका लागि ३० लाख, ८ वटै वडामा मरनपाटी निर्माणका लागि ३० लाख, सार्वजनिक शौचालय निर्माणका लागि १५ लाख, कृषि रिंगरोड स्तरोन्नतीका लागि १ करोड विनियोजन गरिएको छ ।

त्यस्तै एकल पुरुष भत्ताका लागि २० लाख, कृषि विकास कार्यक्रममा ३० लाख, पशु सेवा कार्यक्रममा २५ लाख, शिक्षाका कार्यक्रममा १ करोड १४ लाख ७० हजार, स्वास्थ्य कार्यक्रममा ९५ लाख ५० हजार, शिवपुरीका उत्पादनलाई बजारीकरण सहयोग गर्न कोशेली घर निर्माणमा १० लाख, कोभिड १९ बाट मृत्यु भएकाहरुलाई किरिया खर्चबापत ५ लाख छुट्याइएको छ ।

प्रत्येक वडालाई ३० लाखका दरले २ करोड ४० लाख, गाउँपालिका स्वागतद्धार निर्माणमा १५ लाख, गाउँपालिकाभरी उपाध्यक्ष आर्थिक पुनरुत्थान कार्यक्रमका लागि ३० लाख, हाईटेक नर्सरी निर्माणका लागि १० लाख, कोभिड १९ नियन्त्रणका लागि २० लाख, विद्यालय शिक्षण सहयोग अनुदान ५ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ