विदुर, नुवाकोट – विदुर नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ ।
विश्वभर एकैसाथ ‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको हो । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । विश्वमा सन् १९९१ देखि र नेपालमा २०५४ सालदेखि अभियान सुरु गरिएको हो ।
विदुर नगरपालिकाको आयोजनामा सदरमुकाम विदुरमा संघिय सांसद नारायणप्रसाद खतिवडाले दिप प्रज्वलन गरेर अभियान सुरु गरेका हुन् ।
विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले लैङ्गिक हिंसा अन्त्यको लागि तीनै तहको सरकारदेखि सम्वद्ध सबै पक्ष ऐक्यवद्धताको साथ अघि बढ्नुपर्ने बताईन् ।
अभियानमा नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविका, महिला सदस्य, विद्यालयमा अध्ययनरत बालबालिकालाई महिला अभिमुखीकरण लगायत सकारात्मक सोच र आत्मरक्षाको तालीम पनि दिइनेछ।
प्रतिक्रिया