विदुर, नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोटले भोलि साउन ३० गतेदेखि हटलाईनमार्फत् २४ सै घण्टा सेवा दिने भएको भएको छ।
प्रशासन कार्यालयको वार्षिक कार्ययोजना अनुरुप शान्ति सुरक्षा, विपद जोखिम न्यूनिकरण एवं खोज उद्धार राहत वितरण, सेवा प्रवाह, विकास निर्माण लगायतका उजुरी तथा गुनासो सम्बोधन गर्न प्रशासनले २४ सै घण्टा हटलाईन सेवालाई सञ्चालन ल्याएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । हटलाईन सेवामार्फत् उजुरी, गुनासो लगायतका विषयमा सेवा प्रवाह गर्न संयन्त्र विकास गरिएको हो । कार्ययोजनामा तोकिएको समय सीमा अगावै जनसमुदायका गुनासो र उजुरी टिपाउन हटलाइन सेवाको लागि टेलिफोन नम्बर ०१०-५६०३३३ फोन गरि सेवा लिने व्यवस्था गरिएको उनले बताए ।
जिल्लाभित्रका सरकारी तथा सार्वजनिक निकायद्वारा प्रवाह गरिने सेवा, विकास निर्माणका कार्यहरु, विपद् व्यवस्थापन लगायतका विषयमा सेवाग्राही जनसमुदायका कुनै गुनासो भएमा वा कुनै सार्वजनिक सेवाको विषयमा जानकारी आवश्यक भएमा समेत उक्त टेलिफोन नम्बरमा सम्पर्क गर्न सकिने छ। टेलिफोनमार्फत आएका गुनासोलाई तत्कालै सम्बोधन गरिने उनले बताए ।
जनगुनासो वा उजुरीका तथ्य प्रमाणहरु gunaso.nuwakot@gmail.com इमेलमा पठाउन पनि सकिने व्यवस्था गरिएको छ । प्रशासन कार्यालयको थप सेवा तथा जानकारीको लागि अधिकारिक वेबसाईट मा हेर्न सकिने छ।
जनताको जीउधनको सुरक्षा, कानूनको शासनको परिपालना, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह विपद पश्चातको खोज उद्धार र राहत वितरण, मानव अधिकारको संरक्षण, गुणस्तरीय विकास निर्माणसँगै कोभिड-१९ को संक्रमणबाट सिर्जित प्रतिकूल परिस्थितिमा जनसमुदायलाई प्रभावकारी सेवामार्फत् जनजीवनलाई सामान्य बनाई राख्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको उनले बताए ।
यस अघि कार्यालयले साउन २३ गतेदेखि हेल्लो सेवा संचालन ल्याएको थियो।
प्रतिक्रिया