विदुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले नुवाकोटका स्थानीय तहहरु, सुरक्षा निकायहरु र पार्टीका स्थानीय ईकाईहरुलाई कोरोना संक्रमण रोकथामका लागि क्रियाशिल रहन लाखौं बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
शनिवार जिल्ला समन्वय समिति नुवाकोटको परिसरमा आयोजित एक कार्यक्रममा काँग्रेस नेता लामाले जिल्लाका १२ वटै स्थानीय तहहरुलाई प्रति पालिका ५ वटा पिपिई, २ वटा ईन्फारेड थर्मोमिटर, ५ लिटर स्यानिटाईजर, २० वटा केएन ९५ मास्क, ५ लिटर स्प्रे स्यानिटाईजरका साथै कोल्पुटार चेक प्वाईन्टलाई स्प्रे मेशिन उपलब्ध गराएका हुन् ।
त्यसक्रममा जिल्ला अस्पताल सहित सबै प्राथमिक स्वास्थ्य केन्द्र र हेल्थ पोष्टहरुलाई पिपिइ सहितका सामग्री र सुरक्षा निकायहरुलाई मास्क समेत उपलब्ध गराईयो । यसैगरी शनिवार नै नेपाली काँग्रेस नुवाकोटको कार्यालयमा आयोजित कार्यक्रममा काँग्रेस नेता लामाले पार्टीका १२ वटै स्थानीय ईकाईहरुलाई पिपिई, मास्क,स्यानिटाईजर र थर्मल गन उपलब्ध गराए ।
यसअघि जिल्ला समन्वय समितिको परिसरमा आयोजित कार्यक्रममा साँसद लामाले कोरोना संक्रमण रोकथामका बिरुद्ध ऐक्यबद्ध रुपमा क्रियाशिल हुनु जरुरी रहेको बताउँदै जिल्लाका स्थानीय तहहरु र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन आफू निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएका थिए ।
त्यसक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तमाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, समन्वय समितिकी उपप्रमुख अप्सरा थापा, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे र प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले साँसद लामाको सहयोगले जिल्लाको कोरोना नियन्त्रण अभियानमा महत्वपूर्ण अर्थ राख्ने बताउँदै सामूहिक प्रयत्नबाट कोरोना बिरुद्धको लडाई जित्न सकिने धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया