sujim advert

‘समन्वय विनाको ओसारपसारले समस्या निम्तन सक्छ’: ठाकुरप्रसाद गजुरेल

डबली खबर     बैशाख १६, २०७७


20770117 thakur prasad gajurel ex mayor bidur municipality nuwakot-min

अहिले के गर्दै हुनुहन्छ ?

अहिले सरकारले सबै नागरिकलाई एकान्तवासमा बस्न भनेको छ । विश्व महामारीको समय हो यो । सरकारले सजकता अपनाएको छ । त्यसैले ठूलो क्षतिबाट हामी बचेका छौँ । अहिले हामी लकडाउनलाई पूर्ण पालना गर्ने समय हो । जहाँ लापरवाही गर्‍यो त्यहाँ ठूलो क्षति भइरहेको छ । हामी कहाँ ठूलो क्षति हुन बाट सरकारले ठीक समयमा महत्वपूर्ण निर्णय गर्‍यो त्यसैले हामी कहाँ ठूलो समस्या देखिएको छैन । छिमेकी देश भारत अहिले पनि रोगले ठूलो रुप लिन सक्ने अवस्थामा देखिएको छ । खुल्ला सीमाना भएकाले हामी त्यसबाट बच्नुपर्छ । त्यहाँ अस्तव्यस्त भयो भने हावाले पनि हामीलाई असर गर्ला जस्तो खालको संरचना रहेको छ । त्यसैले हामीले सहज हुनुपर्छ । खुल्ला नाकालाई कडाई गर्नको लागि सरकार अहिले लागेको छ । नागरिकले पनि सचेत हुनुपर्छ । सन्देशमूलक सन्देश प्रवाह गर्ने खालका कार्यमै समय वितिरहेको छ ।

बन्दाबन्दीको यो समयमा दैनिकी कस्तो छ ?

यो समयमा कहाँ के भइरहेको छ भनेर साथीभाइसँग सम्पर्क गर्ने, सामाजिक संघसंस्थाहरु, जनप्रतिनिधिसँग समन्वय गर्ने, अप्ठेरो परेका मान्छेहरुलाई आफूले जानेको विषयहरुमा समन्वय र सहयोग गरिदिने, स्वास्थ्यकर्मीसँग सुझाव लिनेलगायतका कार्यमा व्यस्त छु । त्यसबाहेक घरमा सामान्य व्यायाम गर्ने, सुचनाहरु आदानप्रदान गर्नेलगायतका काम गर्छु । केही दिन भारतमा रहेका केही विरामीहरुलाई स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरेर ल्याउने काम गरेँ । स्वास्थ्यकर्मीहरुको समेत निगरानीमा होम क्वारेनटाइन राख्नेलगायतका असहज कुराहरुलाई सहज बनाउने काममा लागेँ ।

कस्ता खालका सुचनालाई आधिकारिक सुचनाको रुपमा लिने गर्नुभएको छ ?

आधिकारिक सुचना जिल्ला प्रशासन कार्यालयमार्फत प्रवाह हुने सुचनालाई लिने गरेको छु । विशेषगरी कोरोना संक्रमण नियन्त्रणको लागि जिल्लाले गरेका प्रयासहरु, लकडाउन खुकुलो भयो कि अझै कडा भयो भन्ने विषयमा यो सुचना निकै महत्वपूर्ण लाग्छन् । संक्रमण र रोकथामको सुचनाको आधार भनेको स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन तथा सुचनाहरु नै प्रयोग गर्ने गरेको छु । मुख्य कुरा भनेको स्थानीय तह सक्रिय रुपमा नलाग्ने हो भने झन स्थिति भयावह हुन्छ भन्ने लाग्छ ।

लकडाउनको समयमा जिल्ला जिल्लामा मान्छेहरुको ओसारपसार भइरहेका छन्, यसलाई कसरी हेर्नु भएको छ ?

मुल कुरा त अहिले अप्ठेरोमा परेकै छ । अप्ठेरोमा परेकालाई उद्दार गर्दा हामीले उचाल्नु हुँदैन । कोही अप्ठेरो पर्दा जान चाहन्छन् भने उनीहरुलाई स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा मात्रै प्रवेश गर्न दिनु उचित हुन्छ । हिजो भर्खरै पनि विराटनगरबाट त्यहाँको नगरपालिकाले बसमा हालेर पठायो, नागढुंगा आएपछि स्थानीय प्रशासनले रोक्यो । काठमाडौं प्रशासनलाई जानकारी नै नदिई सिधै उताबाट हालेर पठाइएको रहेछ । यसरी मान्छे ओसारपासार गर्दा समस्या निम्तन सक्छ । त्यही कारणले नागढुंगामा लामो समयसम्म यात्रुहरु अलपत्रमा परे । हार्रहुर्र गरेर चुनावमा मतदाता लगेको जसरी लैजाने अवस्थाले कसैलाई पनि फाइदा गर्दैन । यदि झुक्किएर एक जना संक्रमित पनि बसमा सँगै यात्रा गर्‍यो भने उसले धेरैलाई संक्रमित बनाउन सक्छ । लापरवाही पनि भएका छन् । ओसारपसार गर्दा कस्को जिम्मामा कस्ले निगरानी गर्ने भनेर समन्वयका साथ पठाइयो भने समस्या हुँदैन जस्तो लाग्छ ।

जिल्लास्तरमा कोरोना विरुद्धको तयारीलाई कसरी हेर्नु भएको छ ?

जिल्ला तहको सबै साधन स्रोतको अभाव देखाइएको थियो । अहिले स्वास्थ्य सामग्री सबैतिर पठाएको अवस्था छ । नुवाकोटमा पनि र्‍यापिड टेष्ट भइरहेको छ । स्थानीय तहले पनि क्वारेनटाइन बनाएकै छन् । यस्तो बेलामा राजनीतिक गन्ध दिने काम भइरहेका छन् सहयोग लिने त्यो सहयोग गुमराहमा राख्ने र उभिएर फोटो खिच्ने प्रवित्ति बढेको छ । अहिले एकद्वार प्रणालीबाट राज्यलाई सहपोग गर्नु नै ठूलो कुरा हो । यसरी व्यक्तिव्यक्तिले गर्ने सहयोगको नाममा रोगलाई निमन्त्रण गरियो भने दुर्घटना हुन सक्छ ।

अहिले जिल्लाका स्वास्थ्य संस्थाहरुको सुधार गर्ने अवसर पनि हो भनिन्छ नी ?

अहिले स्वास्थ्य क्षेत्रमा गुणात्मक रुपमा फड्को मार्ने अवसरको रुपमा कोरोना भाइरसको संक्रमणले जुटाइदिएको छ । देशको दुर्गम महाकाली जस्तो ठाउँमा ठूला अस्पताल बनेका छन् । हामी कहाँ पनि प्रदेशले आइसियु तहमा सुधार गर्ने हिसावले त्यहाँ सामग्रीहरु पठाउन थालेको छ । जिल्ला अस्पताल त्रिशूलीलाई सुधार गर्नको लागि अहिले मौका मिलेको छ । प्रदेश सरकारले पनि सहयोग गरिरहेको छ । कतिपय उपकरण र सुधारका विषयमा कदम चालिसकेको छ । सबै भन्दा प्राथमिकताको विषय भनेकै स्वास्थ्य रहेछ भन्ने ज्ञान कोरोनाले दिएको छ । राज्यले पनि चासो र प्राथमिकताका साथ योजना र कार्यक्रमहरु अघि बढाएको छ ।

प्रसंग बदलौँ, राजनीतिक गतिविधिलाई कसरी अघि बढाइरहनु भएको छ ?

राजनीतिामा म २०४३ सालदेखि सक्रिय हुँदै आएको छु । २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा सहभागी हुँदा नुवाकोटमा तीन महिना जेल जीवन बिताउनु पर्‍यो । २०४६ पछिको परिवर्तनपछि अरु सबै छाडेर राजनीतिक रुपमै लागियो । २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा विदुरवासीले माया गरेर दुई पटकसम्म नगरपालिकाको प्रमुखको रुपमा निर्वाचित गराउनुभयो । दुई कार्यकाल मेयरको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी पाएँ । त्यसपछि पनि बामपन्थी विचार बोकेर अहिले पनि क्रियाशील नै छु । समाज सुधारको लागि विभिन्न क्षेत्रमा क्रियाशील नै छु । अहिले म नेकपाको बागमति प्रदेश कमिटिको सदस्य छु । अहिलेको अवस्था भनेको काम गर्ने स्वर्णिम अवस्थामा नेकपाको सरकार रहेको छ । समृद्धिको लागि, राष्ट्र निर्माण गर्ने ठाउँमा नेकपा पुगेको छ । त्यस अभियानमा हामी सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने मेरो विचार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top