ऋषि अधिकारी
बहत्तर सालको थियो बाह्र बैशाखको दिन
खाना खाएर पल्टीएँ मध्यान्ह अघि एक्छिन ।
शनिबार थियो छुट्टी धरहरा चढ्दथे कति
काँप्यो धर्ती बडो जोडले यस्तैछ दैवको गति ।१।
केन्द्रबिन्दु थियो गोर्खा आस्पास सब हल्लिए
एकैछिन्मा ढल्यो धरहरा हा दैव ! सब भन्दथे ।
बाह्र बज्न थियो बाँकी चार मिनेट नै जति
लाखौ घर भए ध्वस्तै सम्पदाहरु झन् कति ।२।
कोलाहल मच्चियो सारा भागाभाग गरे सबै
च्यापिए पुरिए प्राणी हाम्फालेर मरे कबै ।
एकैदिन भूकम्पका बाह्र धक्का पनि गयो
आतङ्कित मनमा सबको त्रास झन् थपिदोभयो ।३।
नेपाल राज्यमा छायो ठूलो विपत्ती नै जब
राहत उद्धारमा सेना, प्रहरी खटिए सब ।
छिमेकिको बढ्यो चासो पठायो हेलिकप्टर
राहत उद्धारको निम्ति देखिन्थे सब तत्पर ।४।
दस हजार मरे भन्ने प्रारम्भिक अनुमान भो
खोजी कार्य हुँदै गर्दा घाईते अझ बढ्न गो ।
दात्री निकायले सारा फराकिलो गरे मन
राहत सामाग्री भित्रिन्थे दिनरात नभनिकन ।५।
राजनैतिक भागबण्डामा राहत सामाग्री अल्झियो
दुखेकै त थियो घाउ ! पीडा झन् अझ बल्झियो ।
जन्मेउँ गरिब भई हामी भोगेकै छौ दरिद्रता
त्यो भन्दा नि अझै छुद्र ! राजनैतिक चरित्रता ।६।
विशुद्ध मनले सेवा गर्नु पर्ने थियो तर !
प्रश्नचिन्ह राजनीतिमा किन उठ्छ सँधैभर ?
थियो औकात जो आफ्नो देखाए एकछिनमा
लुछाचुँडी सभासद्को राहत त्रिपाल लिनमा ।७।
पन्ध्र जिल्ला भए ध्वस्तै महाभूकम्पमा परि
पूर्वमा सिन्धु, दोलखा, रामेछाप,खोटाङ गरि ।
उपत्यका तीनै जिल्ला, नुवाकोट पनि पर्न गो
काभ्रे,धादिङ, रसुवाको क्षति झन् अझ बढ्नगो ।८।
गोरखा थियो अझै ध्वस्त बस्ती नै कति सारिए
बारम्बार गयो कम्पन त्यसैमा कति मारिए ।
बाह्र बैशाखको कम्पन सातपोइन्ट आठको थियो
त्यसपछिका कयौ कम्पन चारदेखी सातको थियो ।९।
सातपोइन्ट चारको एक थपियो बिचमा अरु
पहाडै त खस्यो आखिर हा दैव ! अब के गरुँ ?
छिनभरमै असिना पानी हुरि बतासले गरि
त्रिपाल मुनिको बास पराकम्पन घरी घरी ।१०।
पहिचान हुन्छ मान्छेको बिपत्तिको घडी महाँ
असल मित्र रह्यो चाइना राहत उद्धार कार्यमा ।
पश्चिमाहरुले सक्दो गरे सेवा सहयोग जो
थोरै स्वार्थ मिसिनाले भारत क्यै पछि पर्नगो ।११।
जुटे गगन झै केही सेवा कार्यमा तैपनी
आरोप सबबिषे लाग्यो छ सय एक हुन् भनी ।
सपूत् नेपाल आमाका सशस्त्र, प्रहरी अनि
धन्य हुन् नेपाली सेना खटेकै छन् अझैपनि ।१२।
ठुला महल हुने सबका छैन मनमा चयन रति
खुला आकाशको बास ! चाहियो र अझै कति ?
सेवाको भावना जागोस् नेपाली मनमा सब
झगडा त गरेउँ धेरै लागौ निर्माणमा अब ।१३।
राजनैतिक स्वार्थको जालो हटाउनु अब पर्दछ
हातेमालो गरौ सबले नयाँ नेपाल बन्दछ ।
प्राकृतिक सम्पदा हाम्रा उच्च छन् विश्वमै जब
नयाँ नेपालको खाका कोरौ जागौ उठौ अब ।१४।
प्रतिक्रिया