विदुर – आज (बिहीबार) बिहान लाग्ने खण्डग्रास सूर्यग्रहण सुरक्षित तरिकाले अवलोकनका लागि देशका विभिन्न स्थानमा तयार गरेको छ।
काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ । काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ। ग्रहणका क्रममा काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेको देख्न सकिनेछ ।
सूर्यग्रहणलाई खुला आँखाले हेर्नुहुँदैन। सुरक्षित रुपमा अवलोकन गर्न सन फिल्टर भएको चश्माबाट हेर्दा सुरक्षित हुन्छ। त्यसैगरी एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना वा पानीको प्रतिबिम्बमा समेत नहेर्न आग्रह गरेका छन्। हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्मा वा वेल्डिङ गर्दा प्रयोग गरिने चश्माबाट अवलोकन गर्नु सुरक्षित हुने उनीहरुको धारणा छ।
बिहीबार बिहान लाग्ने सूर्यग्रहण मध्यपूर्वका कतिपय देश, दक्षिण भारत, इण्डोनेसियाबाट देखिनेछ। यो ग्रहणलाई सुरक्षित रुपमा मात्रै हेर्न विज्ञहरुले आग्रह गरेका छन्। सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर हेर्न नहुने विज्ञहरुको सुझाव छ। नांगो आँखाले सुरक्षाको उपाय नअपनाई अवलोकन गरेमा आँखा पुरै विग्रने वा दीर्घकालिन असर पर्ने चेतावनी दिएका छन्।
वेल्डिङ गर्दा लगाउने चश्मा पनि सुरक्षित हो। तर सामान्य प्रकारको चश्मा वा अन्य उपायले हेर्दा आँखा विग्रने जोखिम हुन्छ। घरमै बसेर युट्युवबाट पनि सूर्यग्रहणका प्रत्यक्ष प्रशारण हेर्न सकिने छ।
बिहीबार पृथ्वीको केही भागबाट वलायाकार वा रिब ग्रहण अवलोकन गर्न सकिने छ। अर्थात् चन्द्रमाको छायाँको व्यास (डायमिटर) सूर्यकोभन्दा सानो भएकोले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि गोलाकार जस्तो देखिनेछ। त्यसैले यसलाई ‘रिङ अफ फायर’ पनि भनिएको छ।
ग्रहण लाग्ने दिन तराईबाहेक देशको अन्य भागको मौसमी अवस्था सामान्य रहने अनुमान गरिएको छ। तराईमा कुहिरो लाग्ने संभावना रहेको छ। काठमाडौं उपत्यकामा बिहान केही समयमा कुहिरो लागेपनि घाम निस्कदै जाँदा हराउंददै जानेछ।
ग्रहण लाग्दा के गर्नुहुन्न?
ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८:४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको छ । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेको छ । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ ।
ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।
शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

प्रतिक्रिया