काठमाडौँ / भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु-याउनुएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुभयो । नेपालमा छापाखाना भित्त्राएको श्रेय समेत उहाँले नै पाउनुभएको छ ।
उहाँका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुनुहुन्छ ।
आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गर्नुभएको रामायणको पाण्डुलिपी खोजी उहाँले नै विसं १९४१ मा प्रकाशन गराउनुभएको थियो । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुनुहुन्छ । यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया