कपिलदेव खनाल र केदार ढकाल, गोर्स्याङ्ग, जन्तरे । नुवाकोटको तारकेश्वर गाउँपालिकामा रहेको एउटा ऐतिहासिक र पर्यटकियस्थल गुमनाम बनेको छ । वडा नं. १ जन्तरे गढीडाँडामा पर्ने ढिकीचुलीमा प्रशस्त ऐतिहासिक भग्नावशेष रहेपनि यसको पृष्ठभुमीका विषयमा स्थानीयहरु बेखर रहेका छन् ।
बैशाख १७ देखि १९ गतेसम्म आयोजित पहिलो तारकेश्वर महोत्सवले यो स्थानको पहिचान र प्रचार गरेको भएपनि यहाँ आन्तरिक पर्यटकहरुका प्रवेश र यसको ऐतिहासिक तथ्य बाहिरिन सकेको छैन ।
स्थानीयहरु यदाकदा यो स्थान हेर्न आउने गरेको भएपनि आवश्यक संरचना र पुर्वाधार निर्माण भएको छैन । सयौं वर्ष पहिला तयार भएको जस्तो देखिने ढुङ्गाको ढिकी, भवनहरुको भग्नावशेष अहिले यहाँ पाउन सकिन्छ ।
जनश्रुती अनुसार यहाँ सयौं वर्ष पहिला राजाको दरबार थियो । समयको कुनै कालखण्डमा यहाँबाट राजकाज संचालन हुन्थ्यो । राजदरबार, सेनाको घर, अन्य भवनहरु प्रशस्त रहेको यो जन्तरे दरवार भुगोलका हिसावले सबै भन्दा उच्च स्थानमा छ । पृथ्वीनारायण शाहको शासनकाल भन्दा पहिल्यै दरबार र राजा रहेको यहाँका स्थानीयहरुको बुझाई छ । ४०/५० वर्षसम्म यहाँ दरबार र अन्य भवनहरु सुरक्षित रहेकोमा गोठाला आउनेहरुले भत्काएका हुन् । आलिसान र भव्य संरचना यहाँसम्म आइपुग्नुको मुख्य कारण भनेको यहाँ रहेको गाडधनको हल्ला हो । ति भवनहरु भित्र बहुमुल्य सामाग्री, गहना र रुपैयाँ रहेको हल्लाका कारण गोठालो आउनेहरुले भवन भत्काउन सुरु गरे । यसरी भवन भत्काउने मध्येका एक यहाँका पूर्व वडाध्यक्ष विवराम तामाङ आफुहरुले दरबार भत्काएको बताउछन् ।
झण्डै आठ रोपनी जग्गामा फैलिएको भवनहरुको अहिले अवशेष मात्रै बाँकी छ । ढुङ्गै ढुङ्गाबाट निर्माण भएको सिङ्गै ढिकीलाई स्थानीयहरुले संरक्षण गरेर राखेका छन् । कम्तिमा चार जनाले मात्रै हल्लाउन सक्ने यो ढुङ्गाको ढिकी परापुर्व कालमा अन्न कुट्न प्रयोग गरिएको अनुमान छ । त्यस्तै केही ढुङ्गहरु फेला परेको छ । दैनिक जनजीवन देखि युद्धको समयमा प्रयोग गरेको जस्तो देखिने शिलाहरु यो गढी डाँडामा अलपत्र छ । स्थानीयहरुले यहाँको ऐतिहासिक तथ्यको खोजी गरेको भएपनि कुनै आधार र प्रमाणहरु फेला परेको छैन । आफु सानु हुँदा भब्य र शालिसान महल देखेकाहरुले ईतिहास कोट्यान नसकेपनि त्यस समयको चित्रको ब्याख्या यहाँका बुढापाकाहरुले गर्दै आएका छन् ।
यो गाउँ वरपरका स्थानीयहरु कहिले काँही यहाँ आइपुग्ने गरेका छन् । भत्केकार दरवारका संरचना चाहाछन्, ढुङ्गाको ढिकी हेर्छन् र फर्कन्छन् । पहिलाको गोर्स्याङ्ग गाविसको वडा नं. १ मा पर्ने यो डाँडो गौडेश्वर प्राविको ठिक माथी रहेको छ । अल्लि बढी स्कुले केटाकेटाकेटीहरुले भ्रमण गर्ने यो ऐतिहासिक स्थानको बारेमा स्थानीय सरकार समेत अनभिज्ञ छ । तारकेश्वर गाउँपालिका वडा नं. १ मा पर्ने यो स्थानको बारेमा यहाँको वडा अध्यक्षले पनि हामीसंग गएपछि यो स्थालाई पहलिो पाली हेरेका छन् । बालखकालमा योस्थानको बारेमा केही सुनेको भएपनि यहाँको ईतिहासको बारेमा वडा अध्यक्ष दयानिधि अधिकारी बेखर छन् ।
दाङ्गसिङ्ग–फलाटे हुँदै यहाँ सडक मार्गबाट आइपुग्न सकिन्छ । नुवाकोटको लेक मध्येमा पर्ने यो स्थान आन्तरिक पर्यटकको लागि निक्कै नै मनमोहक र रमणिय छ । सिजनमा काफल, एैसेलु, किम्बु, लालिगुराँसले पर्यटकलाई लोभ्याउने छ । नुवाकोटको बट्टार हावाघरबाट यहाँ ३० किलोमिटरको सडक दुरीमा रहेको छ ।
प्रतिक्रिया