+
Search

ताजा अपडेट +

पपुलर +

पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने: दाहाल

डबली खबर
८ साल अगाडी

चितवन/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिनुभयो ।

दुई पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेका कारण एकतामा ढिलाइ भएको स्वीकार्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो । म पनि व्यस्त नै छु । यसले थोरै ढिलो भएको हो ।” समय निकालेर छलफलमा बसेमा कुरो टुंगिने उहाँको भनाइ थियो ।

पार्टी एकतामा त्यस्तो जटिल केही नरहेको जानकारी दिँदै उहाँले दुई चार दिन ढिलो होस् तर राम्रो होस् भन्नेतर्फ आफूहरुको ध्यान गएको बताउनुभयो । दाहालले भन्नुभयो, “हतारमा एकता गर्ने, पछि गएर यी कुरा पहिले नै सल्लाह गर्नुपर्ने भन्ने नहोस् भन्ने हाम्रो चाहना छ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीले जुत्ता अनुसारको खुट्टा बनाउने भन्ने भनाइ प्रतीकात्मक भएको बताउँदै उहाँले भन्नुभयो, “लेनिनले के गर्ने भन्ने पुस्तक लेख्दा बरु सय चोटि नाप्ने तर खुट्टा अनुसारको जुत्ता बनाउने भन्ने कुरालाई उहाँले प्रतीकात्मक रुपमा उठाउनुभएको हो । हामी त्यस्तो ठाउँमा आएका छौं । खुट्टा काटेर भए पनि जुत्ता मिलाउनुपर्ने छ भन्नुभएको हो ।”

अर्काे एक प्रसंगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन गइरहेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मोदीजीको धेरै पहिलेदेखि रोकिएको काम पनि हो जनकपुर र मुक्तिनाथ जाने । यस बाहेक अरू छलफल पनि हुने कार्यक्रम छ ।”

उहाँले दुई देशबीचको सम्बन्ध सुधार भइरहेको पनि उहाँले बताउनुभयो । -रासस

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ