पोखरा, ३ बैशाख/ प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश समृद्धिका लागि लगानी बृद्धि गरिने बताउनुभएको छ ।
प्रदेश नं ४ को आज प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “लगानीलाई प्रोत्साहित गरी दीर्घकालिन सोचका साथ विकास निर्माण”मा सरकार अघि बढ्छ ।
मुख्यमन्त्री गुरुङले आगामी आर्थिक वर्षमा आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान, बैदेशिक अनुदान, बैदेशिक ऋण र आन्तरिक ऋणबाट स्रोत परिचालन गरिने नीति लिइने बताउँदै गुनासो सम्बोधनका लागि विद्युतीय प्रणालीमा आधारित हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
पर्यटन विकास, कृषि आधुनिकीकरण र जलस्रोत उपयोगलाई अघि बढाउने बताउँदै उहाँले प्रदेशका सार्वजनिक सेवालाई सेवाग्राही र प्रविधिमैत्री बनाइनेछ भन्नुभयो ।
मुख्यमन्त्री गुरुङले प्रदेशमा लगानी बढाउन २०७५ सालभित्रै लगानी सम्मेलन गरिने जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया