नुवाकोट । प्रजातान्त्रिक गठवन्धनमा सामेल भएको भनिएको नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्य समिति नुवाकोटले नेपाली काँग्रेसलाई नसघाउने भएको छ । बाबुराम भट्टराईको लागि गोरखा र प्रेम तामाङको लागि रसुवामा मात्रै नयाँ शक्तिले काँग्रेससंग तालमेल गरेको जनाउँदै नयाँ शक्ति नुवाकोटले आफ्नो भोट आफै लिने जनाएको छ । शुक्रवार विदुरमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले नयाँ शक्ति आफ्नै चुनाव चिन्हमा भोग माग्न हिड्ने निर्णय गरेको छ । यस अघि काँग्रेसलाई समर्थन गर्दै जिल्लाको सबै क्षेत्रमा हालेको उम्मेदवारीलाई पत्रकार सम्मेलन गरेर फिर्ता लिने र काँग्रेसलाई मतदान गर्न आव्हान गर्ने बताइएको थियो । जिल्ला संयोजक भिमलाल तामाङले आफ्नो समर्थन नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा क को काँग्रेस उम्मेदवार जगत तामाङलाई रहेको जनाउँदै काँग्रेसको मञ्चबाट घोषणा गर्ने कार्यक्रम तय गरेका थिए । त्यस लगत्तै बसेको जिल्ला समिति बैठकले जिल्ला संयोजक नै परिर्वतन गरेर बाम गठवन्धलाई समर्थन गर्ने तयारी गरेपछि यस्तो निर्णय आएको नयाँ शक्तिका एक उम्मेदवारले बताएका छन् ।
काँग्रेसलाई समर्थन नगर्ने र नयाँ शक्तिले आफ्नो चुनावी अभियानलाई भोली देखि तिब्र पार्ने लिखित रुपमा निर्णय भएको बताइएको छ । बैठकमा जिल्ला संयोजक एक्लै काँग्रेसको पक्षमा देखिएका थिए भने बाँकी पदाधिकारी र जिल्ला सदस्यहरु बाम गठवन्धनको पक्षमा उभिएका थिए । काँग्रेस प्रवेशको भित्रि तयारी थालेका भिमलाल तामाङलाई जिल्ला संयोजकबाटै मुक्त गर्ने प्रस्ताव बैठकमा आएपछि उनी अप्ठ्यारोमा परेका थिए । नयाँ शक्तिले क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको सन्तबहादुर तामाङ बाम गठवन्धनालई सघाउन माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्ला संयोजकले काँग्रेसको पक्षमा निर्णय लिन लागेको जानकारी पनि उनी हितबहादुर तामाङलाई समर्थन गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तामाङ स्थानीय तह निर्वाचनमा शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नयाँ शक्तिबाट उठेका थिए । यसै बीच, नयाँ शीक्त नुवाकोटका संयोजकले आफ्नो व्यक्तिगत फाईदाका लागि उम्मेदारी पनि छाड्दै काँग्रेसको पक्षमा उभिने अभिव्यक्ति दिएपछि नयाँ शक्ति स्थापना भन्दा अघिदेखि अभियानमा लागेका नवराज ढुङ्गाना विज्ञानले पार्टी छाडेका छन् । उनले नयाँ शक्तिको जिल्ला बैठकको अघिल्लो दिन बाम गठवन्धनलाई सघाउने भन्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी अहिले क्षेत्र नं. २ को प्रतिनिधि सभाका उम्मेदवार नारायणप्रसाद खतिवडा, र प्रदेश सभा ख का उम्मेदवार हिरानाथ खतिवडाको प्रचार अभियानमा सहभागि भइरहेका छन् ।
नयाँ शक्ति नुवाकोटका संस्थापक संयोजक राजकुमार रेग्मी सन्देश, संस्थापक केन्द्रिय परिषद् सदस्य गोकर्णनाथ न्यौपाने गजेन्द्र माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । पुर्व संयोजक कृष्ण कुईकेल काँग्रेस प्रवेशको अन्तिम तयारीमा छन् । उनी काँग्रेस परित्याग गर्दै एक वर्ष अघि नयाँ शक्तिमा लागेका थिए । कुईकेल फेरि नुवाकोटमा केसी गुटबाट काँग्रेसको राजनीति थाल्ने गरी आन्तरिक तयारीमा जुटेका छन् । त्यस्तै नयाँ शक्तिमा प्रभाव जमाएर बसेका धेरै नेताहरु बाम गठवन्धनको पक्षमा देखिएका छन् । गएको बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा नयाँ शक्तिले नुवाकोटमा दुई हजार मत ल्याएको थियो । आसन्न प्रतिनिधिसभा प्रत्यक्ष तर्फको लागि निर्वाचन क्षेत्र २ मा अहिले धर्मबहादुर गुरुङको उम्मेदवारी रहेको छ । यस्तै प्रतिनिधि सभा २ निर्वाचन क्षेत्रको प्रदेशसभा क मा केशव पुडासैनी र ख मा भीमलाल तामाङ छन् । क्षेत्र नं. १ को प्रतिनिधि सभा उम्मेदवारमा नयाँ शक्तिको तर्फबाट उम्मेदवारी दिएका सन्तबहादुर तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनका उम्मेदारी कायम रहेपनि आफ्नो समर्थन माओवादीलाई रहने घोषणा गरेका छन् । प्रदेशसभाको लागि क्षेत्र नं. १ को क मा ग्योर्मु हेल्मो र ख मा ईश्वर राउतको उम्मेदारी रहेको छ । नयाँ शक्ति नुवाकोटबाट प्रतिनिधि सभाको समानुपातिकमा निमा हेल्मो, प्रदेशसभा समानुपातिकमा कमला नेपाल, गोकर्ण अधिकारी, प्रल्हाद भुजेल, राजन बम, भगवान रानामगर उम्मेदवार रहेका छन ।
प्रतिक्रिया