विदुर, भदौ २४ । नुवाकोटमा आज दुईवटा ठुला साहित्यिक गतिविधि भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नुवाकोट साहित्य पदयात्रा सम्पन्न गरेको छ । त्यस्तै कवि आरएम डङ्गोलको विदुरमै एकल कविता वाचन कार्यक्रम भएको छ ।
नुवाकोट साहित्य पदयात्रा विहान बट्टार क्याम्पस गेटबाट सुरु भएर नुवाकोट साततले दरवार हुँदै महामण्डल पुगेर टुङ्गिएको छ । नुवाकोटका साहित्यकार तथा साहित्यानुरागीको सहभागिता रहेको पदयात्रामा विभिन्न कवि तथा सर्जकहरुले रचना वाचन गर्दै यात्रा गरेका छन् ।
नुवाकोट साहित्य पदयात्राको आयोजक संस्था नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष श्रीराम श्रेष्ठका अनुसार संस्थाको बार्षिक कार्य योजना अन्र्तगत हरेक साल यस्तै साहित्यिक पदयात्रा गरिदै आएको छ । यस क्रममा यो पाली नुवाकोटको ऐतिहासिक क्षेत्रलाई छनोट गरिएको छ । साहित्यको वृद्धिविकासको साथमा आन्तरिक पर्यटनको विकास र साहित्य लेखनमा टेवा पु-याउनका लागि साहित्य पदयात्राको आयोजना गरिएको बताइएको छ ।
नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी शम्भुप्रसाद शर्माले साहित्यिक गतिविधीले नयाँ पुस्तामा सिर्जनाको शक्ति प्रवाह हुने बताउनुभयो ।
उता विदुरमा, युवा पुस्ताका चर्चित कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं. २ का स्थायी निवासी आरएम डङ्गोल काठमाडौंबाट साहित्य लेखनिमा क्रियाशिल हुनुहुन्छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा काठमाडौं देखिका साहित्यकारहरुको सहभागिता रहेको थियो ।
माटो र मुटुका कुरा उत्तिकै सशक्त रुपमा लेख्नुहुने कवि आरएम डङ्गोलको एकल कविता वाचन खुव खुलेको थियो ।
वर्तमान पुस्ताका चर्चित कवि आरएम डङ्गोलका उत्कृठ सृजनालाई कार्यक्रममा सहभागि कवि तथा कवयत्रिले समेत वाचन गरेर सुनाएका थिए । आरएम डङ्गोललाई माया गरेर कार्यक्रममा सहभागिहरुले उहाँको कविता वाचन गरेका हुन् ।
कार्यक्रममा सहभागिहरुले आरएम डङ्गोलका कविताले समसामयिक अवस्थाको चिन्तन देखि मनको कुरालाई बोकेको टिप्पणी गरे । सामान्य विषयवस्तुलाई विशिष्ट बनाएर सुन्दर कविता पस्नकले खुवी आरएम डङ्गोललको रहेको छ ।
आरएम डङ्गोलको एकल कविता वाचन सुन्नका लागि काठमाडौंबाट पनि साहित्यकारहरुको सहभागिता रहेको थियो । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रिय विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्य, त्रिशुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँल, त्यस्तै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उप प्रमुख गीता दाहाल, वडा नंं ४ का अध्यक्ष टलकमान श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको समेत सहभागिता रहेको थियो । कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका महासचिव राजेन्द्रमान डङ्गोलले कवि आरएम डङ्गोलको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।
एकल कविता वाचनका लागि कवि आरएम डङ्गोल आफ्ना वृद्ध मातापिता, दाजुभाई लिएर विदुर आउनुभएको थियो । उहाँलाई विदुर नगरपालिकाको कार्यालयले मायाको चिनो प्रदान गरी विदाई गरेको छ ।
आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम नुवाकोटबाट डबली खबर डट कमले प्रत्यक्ष प्रशारण गरेको थियो ।
प्रतिक्रिया