२०८१, १२ बैशाख बुधबार

आयोजना निर्माणमा समस्या

    श्रावण २ २०७३ १७:१२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधिन जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ ।

सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा समस्या भएपछि पूर्ण क्षमतामा काम गर्न गाह्रो भएको ती आयोजनाले जानकारी दिएका छन् । रसुवाको राम्चे, कालीकास्थानलगायतका क्षेत्रमा पहिरो गएको छ ।

यस्तै स्याफ्रुबेसीखण्डमा पहिरो गएका कारण निर्माण सामग्री आयातमा समस्या भएको छ । सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले आयोजना निर्माणमा समस्या नआए पनि निर्माण सामग्री आयातमा अवरोध भएको छ । “सुरूङ निर्माण तथा अन्य भौतिक पूर्वाधारको कामलाई विशेष जोड दिएका छौँ,” उनले भने ।

सान्जेन १४.८ मेगावाट क्षमता तथा तल्लो सान्जेन ४२.५ मेगावाट क्षमताको आयोजना हो । सान्जेनको करिब ५० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनालाई समेत निर्माण सामग्री अभाव भएको छ । बाढीपहिरोका कारण सडक अवरूद्ध हुँदा निर्माण सामग्री आयात गर्न नसकिएको आयोजनाले जनाएको छ ।

पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्क, सानु भार्कु र खोपाङको भीर दुराअवस्थामा रहेको छ । रसुवाका नागरिक अगुवा बाबुलाल तामाङकाअनुसार नेपाल चीनको व्यापारिक नाकाको बीच भागमा पर्ने राम्चे गाविस– १ र स्यापु्र गाविस– ४ सानो भार्कु तथा खोपाङभीरको राजमार्गमा समस्या भएको छ ।

दिनानु दिन सडक जीर्ण हुँदै गएकाले त्यसलाई व्यवस्थित गर्न डिभिजन सडक कार्यालय नुवाकोटलाई आग्रह गरिएको छ । डिभिजन कार्यालयले अवरूद्ध सडक खुलाउने विषयमा पहल गरिरहेको भए पनि भूकम्पले चिराचिरा परेको पहाडमा पहिरो आउने क्रम रोकिएको छैन ।
दैनिक सरदर रू एक करोडभन्दा बढी राजस्व सङ्कलन हुने सडकको उक्त खण्डमा सवारीसाधन सञ्चालनमा ल्याउन असहज भइरहेको छ । सवारी चालक दैनिक हैरानी खेप्न बाध्य छन् । कतिपय सवारी साधन पहिरोको बीच भागमा बिग्रिएर बाटोमै थन्किएका छन् । समस्यालाई गम्भीरतापूर्वक लिई यातायात नियमित गराउन रसुवावासीले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

काठमाडौँबाट छुटेका सवारी साधन मूलखर्क क्षेत्रमा थिक्निु पर्छ भने कतिपय सवारी साधन फर्काएर कालीकास्थान बास बस्नुपर्ने बाध्यता छ । कुन बेला कहाँ पहिरो खस्छ भन्ने चिन्ताले चालकलाई त्रसित बनाएको छ । मालबहाक ट्रक, बस र बिरामी बोक्ने एम्बुलेन्स चलाउन समस्या भएकाले मर्मतसम्भारका लागि पासाङल्हामु बस व्यवसायी समितिले आग्रह गरेको छ ।

सडक मर्मत गर्न नेपाली सेनालाई आग्रह गरिने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए । यस्तै रसुवाको लिङ÷लिङको भीरमा ढुड्गा झर्ने क्रम निरन्तर जारी रहेका कारण रसुवागढी आयोजनाको निर्माणमा समस्या भएको छ । रसुवाढी नाकामा पहिरो खस्दा तीन दर्जनभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । केरूङबाट सामान आयात गरेर रोकिएका ट्रक तथा कन्टेनरमा क्षति पुगेको हो ।

यस्तै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सामग्री आयातमा समस्या भएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले सिमेन्ट, रड, पेनस्टक पाइप आयातमा समस्या आएको बताए । नारायणगढ, मुग्लिन सडकखण्ड र सुनकोसीको पुलमा अवरोध हुँदा निर्माण सामग्री ढुवानी गर्न नकिएको बताइएको छ ।

– रासस

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top