मङ्सिर ६, नुवाकोट । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको जुडो टोलीमा नुवाकोट र रसुवाका तीन खेलाडीले स्वर्ण पदक जितेर स्थान पक्का गरेका छन्।
प्रशिक्षक संजित डङ्गोलको नेतृत्वमा सुनील नगरकोटी (८१ केजी), सादिन तामाङ (६० केजी) र प्रमोद तामाङ (६६ केजी) ले स्वर्ण पदक हासिल गरेका हुन्। छनौट भएका खेलाडीहरू बाढी प्रभावित क्षेत्रका हुन्। नुवाकोट र रसुवाका तीनै खेलाडी सुर्खेतमा हुने दसौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन्।
बागमती प्रदेशका जुडो प्रशिक्षक संजित डङ्गोलको विशेष तयारी र मार्गदर्शनमा उनीहरूले यो सफलता हासिल गरेको टोली स्रोतले बताएको छ। उनी पनि दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षकमा छनौट भएका छन् ।
प्रशिक्षक डङ्गोल भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित भए पनि खेलप्रति देखाएको समर्पणले टोलीलाई प्रेरित गरेको छ। बाढीपछिको कठिन अवस्थाबाट उठेर उनले खेलाडीको शारीरिक तथा मानसिक तयारीमा निरन्तर जोड दिएका छन्। प्रशिक्षक डङ्गोलको अनुभव र बाढीपछिको संघर्षले टोलीलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
प्रदेश खेलकुद विकास परिषद्ले दसौं राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा पूर्ण टोली पठाउने तयारी गरिरहेको छ। जुडो लगायत ३० खेलका खेलाडी छनोट भइसकेका छन् भने बन्द शिविरमार्फत् विशेष प्रशिक्षण चलिरहेको छ।
बागमतीबाट कुल ६ सय ५८ खेलाडीसहित ७ सय ८४ जनाको सहभागिता रहने सदस्यसचिव दीपक लामाले जानकारी दिएका छन्।
प्रदेश सरकारले पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्था पनि अघि बढाएको छ।
स्वर्णका लागि एक लाख, रजतका लागि ७५ हजार र कांस्यका लागि ५० हजार रुपैयाँ दिने कार्यविधि तयार पारिएको छ।