कार्तिक २, नुवाकोट । विदुर नगरपालिकाको बट्टारस्थित भित्री सडकखण्डमा विद्युतीय सवारीसाधन (ईभी) र स्कुटर आपसमा ठोक्किँदा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा निधन भएको छ।
युनाइटेड आधारभूत विद्यालय नजिक भएको दुर्घटनामा विदुर नगरपालिका–४ बट्टार निवासी ४४ वर्षीय नमराज दाहालको निधन भएको प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।
उनका अनुसार हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ९११२ नम्बरको र संगमचोकबाट हावाघरतर्फ आउँदै गरेको बा.३८ प. ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक दाहालको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि चक्रदेव अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौं पठाईएको थियो। उपचारकै क्रममा उनको निधन भएको बताइएको प्रहरीले जनाएको छ ।
ईभीका चालक विदुर नगरपालिका–१ निवासी २३ वर्षीय देव तामाङ रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप विवरण तथा घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।