असोज २७, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको लेदोसहित आएको विनाशकारी बाढीबाट क्षति व्यहोरेका जिल्लाका निजी विद्यालय, तिनका सञ्चालक तथा शिक्षक-कर्मचारीको पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नुवाकोटले आर्थिक सहयोग उपलब्ध गराएको छ।
प्याब्सन नुवाकोटको पूर्ण बैठकले विपद्को समयमा पीडित शैक्षिक संस्था र जनशक्तिलाई राहत पुर्याउने उद्देश्यका साथ करिब ७३ लाख ५५ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष पुरूषोत्तम अधिकारीले जानकारी दिए ।
बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका उत्तरगया पब्लिक बोर्डिङ स्कुल र त्रिशूली सामुदायिक बोर्डिङ स्कुललाई पुनःनिर्माणका लागि प्रतिविद्यालय १० लाख रूपैयाँका दरले रकम हस्तान्तरण गरिएको छ।
त्यसैगरी, बाढीबाट प्रत्यक्ष प्रभावित बनेका विद्यालय सञ्चालकहरूलाई प्रतिव्यक्ति ७५ हजार रूपैयाँ र संकटमा परेका शिक्षक तथा कर्मचारीहरूलाई प्रतिव्यक्ति ६० हजार रूपैयाँका दरले राहत रकम प्रदान गरिएको विदुर नगर प्याब्सन कमिटीका अध्यक्ष रामराजा कुमालले जानकारी दिए ।
प्राकृतिक विपत्तिका कारण अलपत्र बनेको पठनपाठनलाई पुनः सुरु गराउन र पीडित शिक्षक-कर्मचारीको मर्ममा मलम लगाउन यस सहयोगले अहम् भूमिका खेल्ने विश्वास लिइएको छ।
प्याब्सन नुवाकोटका अध्यक्ष अधिकारीले संकटका बेला शैक्षिक क्षेत्रलाई पुनः पुरानै लयमा फर्काउन र कार्यरत जनशक्तिको मनोबल उच्च राख्न सामूहिक प्रयास अत्यावश्यक बनेको बताए ।