असोज २०, विदुर । नुवाकोटका बाढी प्रभावित उद्योगीहरूले आफ्ना उद्योग पुनः सञ्चालन गर्न सरकारसँग तत्काल विशेष राहतको माग गरेका छन्।
विज्ञप्तिअनुसार गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विपत्तिले जिल्लाका धेरै ठाउँमा ठूलो क्षति पुर्याएको थियो। सामान्य बाढी मात्र नभई माटो, बालुवा, ढुंगा र गेग्रानसहितको शक्तिशाली लेदो बाढी आएको थियो।
बिदुर नगरपालिकाका वडा नं. १, ३, ४, ५, ६, ७, ८, ९, १० र १२, बेलकोटगढीका वडा नं. ५, ७ र ८ तथा तारकेश्वर गाउँपालिकाका वडा नं. २ र ४ मा रहेका उद्योगहरू बढी प्रभावित भएका थिए ।
कृषिजन्य उद्योग, कुखुरा पालन, पशुपालन, पाइप उद्योग, डेरी, कपडा, बालुवा प्रशोधन, धान-तोरी मिल, क्रसर, काठ मिललगायत साना तथा मझौला उद्योगहरू क्षतिग्रस्त भए। भवन, मेसिनरी, कच्चा पदार्थ र गोदाम बगरमा परिणत भएको थियो ।
प्रभावित उद्योगीहरूले राहतको प्रतिक्षा मात्र नगरी जिल्ला प्रशासन, स्थानीय तह, मन्त्रालय, बैंक तथा वित्तिय र प्रधानमन्त्री कार्यालयसम्म आफ्नो समस्या पुर्याउन निरन्तररूपमा कार्य गरिरहेको उल्लेख छ ।
विज्ञप्तिमा कर्जा पुनर्संरचना, ब्याज सहुलियत, कर र बीमा दाबी सहज बनाउने माग राखेका छन् । माग क्षतिपूर्ति मात्र नभई उद्योग पुनः सञ्चालन गर्न सक्ने अवस्था सिर्जना गर्न भनेका छन्। उद्योग बन्द हुँदा बैंकको सावाँ-ब्याज, कर र विद्युत् महसुल भने निरन्तर रहेकोले त्यसको सहजीकरणमा उद्योगीहरुले सरकार समक्ष माग गरेको छ ।
क्षति सूचना दिने समयसीमा थप र प्रक्रियागत सहजीकरण, एकद्वार क्षति प्रमाणीकरण प्रणाली, कर्जा पुनर्संरचना र कम्तीमा एक वर्ष ब्याज सहुलियत, कर र शुल्कमा छुट बीमा दाबी छिटो फर्छ्योट, विद्युत्, सडक र अन्य पूर्वाधार शीघ्र पुनर्स्थापना, उद्योग स्थलबाट माटो र ढुंगा हटाउन हेभी उपकरण उपलब्ध, त्रिशूली नदी नियन्त्रण र तटबन्ध निर्माण, जोखिमयुक्त उद्योगलाई सुरक्षित स्थानमा स्थानान्तरण, दीर्घकालीन सुरक्षित औद्योगिक क्षेत्र निर्माणलगायतका माग राखेका छन्।
बाढी प्रभावित उद्योग पुनर्स्थापना समन्वय संयन्त्रका संयोजक राजाराम अधिकारीले भनेका छन्, “हामी राहत मागेर बस्न चाहँदैनौँ। हामीलाई उद्योग पुनः सञ्चालन गर्न सक्ने वातावरण चाहिएको छ।”
उनीहरूले सञ्चारमाध्यमलाई पनि यस विषयमा जनसमक्ष ल्याउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आग्रह गरेका छन्। उद्योग बन्द हुँदा रोजगारी, उत्पादन र राजस्व प्रभावित हुने उनीहरूको भनाइ छ।