+
Search

ताजा अपडेट +

पपुलर +

वित्तीय संस्थालाई ‘अक्सिजन’ दिन आग्रह: नगरप्रमुख श्रेष्ठ

डबली खबर
१ घण्टा अगाडी

असोज १८, नुवाकोट । बाढीको कारण क्षति पुर्‍याएका सहकारी संस्थाहरूको पुनर्स्थापना तथा पुनरुत्थानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताएका छन् ।

भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले बाढीबाट क्षति भएका नुवाकोट र धादिङका सहकारीहरूको कार्यालय पुनस्थापनाका लागि जिन्सी सामग्री सहयोग हस्तान्तरण कार्यक्रम नगरप्रमुख श्रेष्ठले स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

बाढीले विदुर नगरपालिका क्षेत्रका घरजग्गा, व्यवसाय र भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको प्रसङ्ग उल्लेख गर्दै नगरप्रमुख श्रेष्ठले भौतिक सम्पत्ति बगेर गए पनि पीडित परिवार र संस्थाहरूमाथि ऋणको भारी उस्तै रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सङ्कटको यस घडीमा बैङ्क तथा बीमा संस्थानहरूलाई कागजी प्रक्रियामा मात्रै सीमित नभई मानवीय र लचिलो दृष्टिकोण अपनाउन उहाँले आग्रह गरेका छन् । स्थानीय अर्थतन्त्र अहिले ‘भेन्टिलेटर’मा पुगेको टिप्पणी गर्दै उनले भने, “अहिलेको अवस्थामा पीडित परिवार र व्यवसायीलाई धराशायी हुनबाट जोगाउन वित्तीय संस्थाहरूले अक्सिजनको रूपमा सहज सहयोग र सेवा प्रवाह गर्नुपर्छ।”

उनले प्राकृतिक विपत्तिका बेला राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विपद्‌मा सबै गुमाएका र जीवनरक्षाका लागि सङ्घर्षरत नागरिकका लागि राहत, उद्धार र सहयोगको जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट पारे।

नगरपालिकाले पीडित नागरिक तथा सहकारीका शेयरधनीहरूलाई आर्थिक रूपमा पुनः स्थापित गराउन सहुलियतपूर्ण ऋण र बीउपुँजी उपलब्ध गराउने गरी योजना बनाइरहेको जानकारी गराए । यस कदमले प्रभावित व्यवसायीहरूलाई दैनिक कामकाजमा फर्कन र आर्थिक स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

बाढीबाट क्षति पुगेका सहकारी कार्यालयहरूको पुनरुत्थानका लागि भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले पुर्‍याएको संस्थागत र सामाग्री सहयोगप्रति नगरप्रमुख श्रेष्ठले विशेष धन्यवाद ज्ञापन गरेका छन् । विपद्का बेला सहकारी क्षेत्रभित्र देखिएको यो आपसी सद्भाव र भ्रातृत्व अन्य संस्थाहरूका लागि पनि प्रेरणादायी उदाहरण भएको उनको भनाइ थियो।

अल्पकालीन राहतमा मात्र सीमित नरही प्रभावितहरूको सुरक्षित आवास र दिगो जीविकोपार्जनका लागि प्रदेश तथा सङ्घीय सरकार र विभिन्न दाता निकायहरूसँग समन्वय भइरहेको उनले बताए ।

विपद्‌बाट पाठ सिक्दै अझ राम्रो र सुरक्षित संरचना निर्माण गर्ने प्रतिबद्धता जनाउँदै प्रमुख श्रेष्ठले सुरक्षित भूमि उपयोग र बस्ती विकास योजना ल्याइने जानकारी दिए । भविष्यमा नागरिकले यस्तो क्षति भोग्न नपरोस् भन्ने हेतुले दीर्घकालीन पुनरुत्थान रणनीति बनाएर अघि बढ्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ