असोज १७, नुवाकोट । गत भदौ १० गते आएको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण आफ्नो ज्यान गुमाएका सदस्यका परिवारलाई राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
विदुरस्थित समाजको कार्यालयमा आयोजित कार्यक्रममा बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ज्यान गुमाएका समाजका १७ सदस्यका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष उदय रानामगरले उपाध्यक्ष सन्तु श्रेष्ठलगायत पदाधिकारीहरूको उपस्थितिमा मृतक सदस्यका परिवारलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
विपद्को घडीमा पीडित सदस्यहरू परिवारको दुःखमा साथ दिन समाजको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष रानामगरले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि हातेमालो गर्न आग्रह गरे। प्रारम्भिक तथ्यांकअनुसार आर्थिक सहयोग गरिएको हुनाले थप तथ्यांक सङ्कलन भईरहेको उनले बताए ।
समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले प्रति पिडित परिवारलाई २५/२५ हजार रुपैँया नगद सहयोग गरिएको जानकारी दिए ।
समाजका अन्य पदाधिकारीहरूका साथै पत्रकारहरूको समेत उपस्थिति रहेको हस्तान्तरण कार्यक्रममा पीडित परिवारहरूले प्राप्त सहयोगप्रति आभार प्रकट गरेका छन् ।
समाजले नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान तथा विभिन्न सामाजिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आएको छ।