+
Search

ताजा अपडेट +

पपुलर +

विनाशकारी बाढीले बगायो ऐतिहासिक त्रिशूली जलविद्युत् केन्द्र

सुनील श्रेष्ठ
२ घण्टा अगाडी

असोज १४, नुवाकोट ।  दशकौँदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रलाई निरन्तर उज्यालो दिँदै आएको नेपालको ऐतिहासिक त्रिशूली जलविद्युत् केन्द्र अहिले पहिचानविहीन बनेको छ।

गत भदौ १० गतेको भीषण वर्षापछि भोटेकोशी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले २४ मेगावाट क्षमताको यो महत्त्वपूर्ण जलविद्युत् गृहलाई पूर्ण रूपमा ध्वस्त बनाएर बगरमा परिणत गरिदिएको छ। आयोजनाको बाँधस्थल, नहर, पावर हाउस र अन्य आधारभूत संरचनाहरू नदीको लेदो र बालुवाले पुरिएका छन् भने अहिले केवल केही ‘पेन्स्टक’ पाइपहरुका अवशेष मात्र देख्न सकिन्छ।

वि.सं. २०२३ सालमा भारत सरकारको अनुदान सहयोगमा २१ मेगावाट क्षमताबाट निर्माण सुरु गरिएको यो आयोजना पछी क्षमता विस्तार गरी २४ मेगावाट बनाइएको थियो। लामो समयसम्म काठमाडौँको ६६ केभी प्रसारण प्रणालीको मुटु बनेर सेवा दिएको यस आयोजनाको पानीलाई पुनः उपयोग गरी तल १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र समेत सञ्चालनमा ल्याइएको थियो। बाढीले यी दुवै आयोजनाका साथै नुवाकोटमै रहेको २५ मेगावाटको ग्रिड सम्बद्ध सोलार आयोजनालाई समेत ठूलो क्षति पुर्‍याएको छ।

त्रिशूली नदी तटीय क्षेत्रमा आएको यो विनाशकारी पहिरो र बाढीका कारण निजी तथा सरकारी गरी करिब ४३० मेगावाटका सञ्चालित आयोजनाहरू प्रत्यक्ष प्रभावित भएका छन्।

माथिल्लो क्षेत्रका रसुवागढी, चिलिमे, साञ्जेन, माथिल्लो त्रिशूली-३ ए र निर्माणाधीन माथिल्लो त्रिशूली-१ लगायतका दर्जनौँ आयोजनाहरूको उत्पादन ठप्प हुनुका साथै प्रसारण लाइनका टावर र २२० केभीको मुख्य हब सबस्टेसनसमेत बगेको छ।

प्राधिकरणले विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउने र हिउँदमा पनि लोडसेडिङ हुन नदिने आश्वासन दिएको भए पनि बाढीले खोसेको यो ऐतिहासिक धरोहर र भौतिक संरचनाको पुनर्निर्माण गर्न वर्षौँ समय र अर्बौँ रूपैयाँ लाग्ने निश्चित छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ