असोज १४, नुवाकोट । नेपालमा आधुनिक बौद्ध शिक्षा (परियत्ति शिक्षा) को ऐतिहासिक जग बसालेको नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित ऐतिहासिक सुगतपुर विहार गत भदौ १० गतेको विनाशकारी बाढीका कारण पूर्ण रूपमा बगरमा परिणत भएको छ ।
भोटेकोशी-त्रिशूली नदीको भयानक बहावले वर्षौँ पुरानो सांस्कृतिक विरासत, अमूल्य ऐतिहासिक दस्तावेज तथा पुरातात्विक महत्त्वका सम्पूर्ण भौतिक संरचनाहरू क्षणभरमै कटान गरी नामेट पारिदिएपछि सिङ्गो बौद्ध समुदाय र देशको शैक्षिक इतिहासमै ठूलो बज्रपात परेको हो ।
प्राकृतिक विपत्तिले दशकौँ पुराना इतिहास र आस्थाका आधारशिला ढलाए पनि बुद्ध शिक्षाको यो उद्गम थलोलाई पूर्ववत रूपमा फर्काउन स्थानीयवासी, उपासक-उपासिकाहरू तथा सम्पदाप्रेमीहरूलाई विहार पुनर्निर्माणको लागि भिक्षु मैत्री महास्थविरले आव्हान गरेका छन्। भौतिक संरचनाहरू बालुवा र गिटीमा परिणत भए पनि बौद्ध धर्मावलम्बी र स्थानीयको आस्था अझै अटल रहेको भन्दै विहारलाई पुनर्जागरण दिन सबै क्षेत्रबाट उनले सहयोगको अपेक्षा गरेका छन् ।
सुगतपुर विहार केवल धार्मिक थलो वा भौतिक संरचना मात्र नभएर भिक्षु मैत्री महास्थविरको जन्मस्थान र प्रमुख कर्मथलो पनि हो। नेपालमा बुद्ध धर्मको पुनर्जागरण तथा परियत्ति शिक्षाको विकासमा यो स्थानको योगदान अतुलनीय मानिन्छ।
धार्मिक तथा ऐतिहासिक सम्पदा जोगाउन सरकारी निकाय, बौद्ध सङ्घसंस्था, दाताहरू तथा आम नागरिकहरूलाई आ-आफ्नो ठाउँबाट हातेमालो गर्दै पुनर्निर्माण अभियानमा जोडिन स्थानीय आनन्द शाक्यले आह्वान गरेका छन् ।