+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपछि भौतिक पूर्वाधार पुनर्निर्माण र राहत वितरण तीव्र पारिँदै

सुनील श्रेष्ठ
८ घण्टा अगाडी

असोज १३, नुवाकोट । गत भाद्र १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिकाभित्र ठूलो जनधनको क्षति भएको छ। बाढीले विदुर नगरपालिकाको भूगोलभित्र रहेका ७ वटा पक्की पुलहरू पूर्ण रूपमा बगाएर लगेपछि नगरपालिकाका १३ मध्ये ७ वटा वडा प्रत्यक्ष प्रभावित भएको नगरपालिकाले जनाएका छन्। हाल त्रिशूली नदीपारिका वडाहरूमा आवतजावत गर्ने पक्की तथा झोलुङ्गे पुलको अभाव हुँदा स्थानीय बासिन्दाको जनजीवन निकै कष्टकर बनेको छ।

प्रदेश सरकार मातहतको पूर्वाधार कार्यालयले नगरका विभिन्न क्षेत्रमा बनाएका तुइनमार्फत् जोखिमपूर्ण यात्रा गर्न नागरिक बाध्य छन्। यसै विषम परिस्थितिलाई मध्यनजर गर्दै विदुर नगरपालिकाले बाढीपछिको पुनर्निर्माण, सडक मर्मत तथा प्रभावित परिवारलाई राहत व्यवस्थापनका लागि महत्वपूर्ण निर्णयहरू विदुर नगरपालिकाको विपद व्यवस्थापनको बैठकमा पारित गरिएको नगरप्रमुख राजन श्रेष्ठले बताए ।

उनका अनुसार यातायात सेवालाई यथाशीघ्र सुचारु गर्न नगरपालिकाले ढुङ्गे क्षेत्रमा आपत्कालीन बेलीब्रिज निर्माणका लागि सडक विभागसँग विशेष पहल भएसँगै निर्माण कार्य अघि बढेको छ। बाढीका कारण अवरुद्ध बनेका मुख्य तथा सहायक सडकहरू जेसिभी, एस्काभेटर र टिपरको प्रयोग गरी सरसफाइ तथा मर्मतसम्भार भइरहेको छ। साथै, केन्द्रीय कारागार नजिकै बाढीमा बेपत्ता भई भेटिएका शवहरूको उचित व्यवस्थापन र उक्त क्षेत्रको घेराबारका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग माग गर्ने निर्णय सर्वसम्मत पारित भएको उनले बताए ।

बैठकमा सडक सञ्जाल पुनर्स्थापनाका साथै घाइतेहरूको उपचार, जग्गा मुआब्जा तथा वैकल्पिक मार्गको स्तरोन्नतिका लागि समेत ठोस कदम चालिएका उनले बताए । बाढीमा घाइते भएका बिरामीहरूलाई अस्पताल पुर्‍याउँदा लागेको एम्बुलेन्स भाडा भुक्तानीका लागि आवश्यक निर्णय लिइएको उनले बताए ।

त्यसैगरी, वडा नं. ५ र ३ जोड्ने देवीघाट क्षेत्रमा नयाँ झोलुङ्गे पुल निर्माण गर्न व्यक्तिगत जग्गा परेकाले नियमअनुसार उचित मुआब्जा वा जग्गा भाडामा लिन जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरिएको छ।

बाढीका कारण अवरुद्ध मुख्य सडकको साटो छत्रे खोला सडकदेखि विभिन्न वस्ती जोड्ने वैकल्पिक सडक विदुर नपाका वडा नम्बर  १, ३, ६, ७, ८, ९ र १२ को सडक स्तरोन्नतिका लागि दायाँ-बायाँका जग्गाधनीहरूलाई बिना मुआब्जा जग्गा उपलब्ध गराउन आग्रह गर्दै आवश्यक समन्वयका लागि पहल भइरहेको उपप्रमुख प्रभा बोगटीले जानकारी दिए ।

वडाबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बाढी पिडित तथा प्रभावितका आधारमा नामावली परिमार्जन गरी बाढीबाट पूर्ण तथा आंशिक क्षति व्यहोरेका र बेपत्ता भएका प्रत्येक प्रभावित परिवारलाई तत्काल १५ हजारका दरले बैङ्किङ प्रणाली वा सीधा नगद रूपमा राहत रकम वितरण गरिने नगरपालिकाले जनाएको छ। साथै, राहत र पुनर्निर्माणका कार्यलाई थप पारदर्शी र प्रभावकारी बनाउन प्राविधिक तथा जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिएको नगरपालिकाले जनाएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ