असोज ११, नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूलाई स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्काल स्वास्थ्य सेवा लिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले आग्रह गरेको छ।
बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकहरूलाई उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको कार्यालयबाट २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा रहेको रेडक्रस सभापति हरी श्रेष्ठले जानकारी दिए ।
विपद्पछिको अवस्थामा सरसफाइ, दूषित पानीको प्रयोग तथा संक्रमणका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यक स्वास्थ्य सेवा लिन आयुर्वेद अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न नेरेसोका सूचना तथा सञ्चार उपसमिति संयोजक ज्ञानेन्द्र गिरीले अनुरोध गरेको छ।
रेडक्रस नुवाकोटले बाढी प्रभावित नागरिकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै उपलब्ध स्वास्थ्य सेवाको अधिकतम उपयोग गर्न सबै सेवाग्राहीहरूलाई आग्रह गरेको छ।
यसैगरी, बाढी प्रभावित नागरिकहरूका लागि बिदुर नगरपालिका–५ तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराइएको छ। उक्त केन्द्रमा आयुर्वेदिक उपचार सेवासँगै त्रिशूली अस्पतालका चिकित्सकहरूबाट आपतकालीन प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला परीक्षण, भिडियो एक्स–रे तथा स्वास्थ्य परामर्श सेवा प्रदान भइरहेको छ।