+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

सुनील श्रेष्ठ
६ घण्टा अगाडी

असोज ८, नुवाकोट । जनशक्ति अभावको चुनौतीका बीच बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालको संयुक्त सहकार्यमा रसुवा र नुवाकोटका बाढीपीडितका लागि लक्षित गरी नुवाकोटमा आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ।

नुवाकोटको तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमा स्थापना गरिएको उक्त केन्द्रको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले विपद्मा प्रभावित नागरिकको स्वास्थ्य सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताए। उनले जनशक्तिको सीमितताका बाबजुद पनि साझेदार संस्थाको सहयोगमा नागरिकलाई निरन्तर स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

भौतिक पूर्वाधार तयार भए पनि पर्याप्त मानव संशाधनको अभाव भइरहेको अवस्थामा प्रदेश सरकारले विश्व स्वास्थ्य संगठन नेपालसँग समन्वय गरेर यो अस्थायी व्यवस्था मिलाएको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय सचिव डा. सुमित्रा गौतमले जानकारी दिईन्  ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण विस्थापित र प्रभावित बनेका नागरिकहरूलाई सहजरूपमा आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यो केन्द्र सञ्चालनमा ल्याइएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिए ।

उक्त केन्द्रबाट बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई नि:शुल्क आकस्मिक उपचार, आधारभूत औषधि, परामर्श र प्रेषण सेवा उपलब्ध गराइने स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ