असोज ८, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरबास गुमाएका पीडितहरूलाई विदुर नगरपालिकाले राहत तथा पुनस्थापनाको कामलाई तीव्रता दिएको छ।
नगरपालिकाले वडा नं. १ का बाढीप्रभावित परिवारहरूलाई सामाजिक संघसंस्थासँगको सहकार्यमा खाटसहितको अति आवश्यक बन्दोबस्तीका सामग्रीहरू वितरण गरेको छ।
नगरप्रमुख राजन श्रेष्ठले विदुर नपा-१ को सम्पर्क कार्यालयमा पुगेर वडा अध्यक्ष लेनिन रञ्जितको उपस्थितिमा पीडितहरूलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
बाढीका कारण सर्वस्व गुमाएका नगरवासीलाई तत्कालको संकटबाट जोगाउन र उनीहरूको दैनिक जीवन सहज बनाउन नगरपालिका निरन्तर खटिरहेको नगरप्रमुख श्रेष्ठले बताए।
अत्यावश्यक सामग्री खरिदका लागि नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा प्रतिपरिवार नगद १५ हजार उपलब्ध गराउँदै आएको नगरपालिकाले अस्थायी आवासका लागि समेत विशेष व्यवस्था गरेको छ। जसअन्तर्गत पीडित परिवारहरूलाई कोठाभाडा, भान्साका सामान तथा बसोबासका लागि चाहिने आवासीय सामग्री राहत स्वरूप वितरण भइरहेको छ।
साथै, खाद्यान्नको अभाव हुन नदिन नगरपालिकाले खाद्यान्न राहतको पनि निरन्तर व्यवस्था मिलाइरहेको छ। बाढीबाट प्रभावित भएर कोही-कसैले राहत नपाएको वा खानपान तथा बसोबासको समस्या भएमा तुरुन्त नगरपालिका वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न विदुर नगरपालिकाले सबैमा अनुरोध गरेको छ।