असोज ८, नुवाकोट । राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्याङ्कन सम्बन्धी तथ्याङ्क तथा विवरण प्रविष्टिका लागि सम्बन्धित सबै निकाय र सरोकारवालाहरूलाई आधिकारिक अनलाइन पोर्टलमा दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि वस्तुनिष्ठ डेटा सङ्कलन गर्ने उद्देश्यले आयोगले विशेष अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो। विवरण प्रविष्ट गर्न इच्छुक तथा जिम्मेवार निकायहरूले लिंकमा गएर साइन अप गर्न सक्नेछन्।
आयोगका अनुसार प्रणालीमा दर्ता भइसकेपछि सोझै लगइन भने गर्न सकिने छैन। पेश गरिएको निवेदन राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएपछि मात्र पोर्टलमा लगइन गरी आ-आफ्नो क्षेत्रको आवश्यक विवरण प्रविष्ट गर्ने सुविधा प्राप्त हुनेछ।
विवरण सङ्कलन र मूल्याङ्कन प्रक्रियालाई छिटो-छरितो र व्यवस्थित बनाउनुपर्ने भएकाले सम्बन्धित सबैलाई ढिलाइ नगरी समयमै साइन अप गरी आवश्यक प्रक्रिया अघि बढाउन आयोगले अनुरोध गरेको छ।