+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशी बाढी प्रभावितका लागि गोसाइँकुण्ड चौतारी सहकारीद्वारा आर्थिक सहयोग

डबली खबर
८ घण्टा अगाडी

असोज ८, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी भिषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी संस्था लि.ले पचास हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विदुर नपा-२ मा रहेको सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गराएको सहकारीका अध्यक्ष ईन्द्रबहादुर पण्डितले जानकारी दिए । गत भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो। बाढीका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै कयौँ अझै बेपत्ता रहेको अवस्थाप्रति उनले गहिरो दुःख व्यक्त गरे ।

सहकारीले जारी गरेको वक्तव्यमा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र बेपत्ता नागरिकका परिवारप्रति सहानुभूति प्रकट गरिएको छ।

“यो कठिन घडी एकता, सहकार्य र मानवीय संवेदनाको समय हो। विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका तर्फबाट सानो प्रयास स्वरूप यो सहयोग गरिएको हो,” संस्थाका व्यवस्थापक हरिवंश ढकालले भने ।

सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारीले विपद्को समयमा पीडितहरूलाई सहयोग गर्न अन्य संघ-संस्थालाई पनि आह्वान गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ