+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावितलाई रेडक्रसको आर्थिक सहयोग

डबली खबर
१ घण्टा अगाडी

असोज ६, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षति व्यहोरेका बिदुर नगरपालिका-५ का पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोटले नगद सहयोग हस्तान्तरण गरेको छ।

रेडक्रसको ‘बहुउद्देश्यीय नगद सहायता कार्यक्रम’ अन्तर्गत बाढी प्रभावित २५७ जना नागरिकलाई राहतस्वरूप रकम उपलब्ध गराइएको हो।

विशेष गरी बाढीका कारण ज्यान गुमाएकाका परिवार, बेपत्ता भएकाका आफन्त तथा घर पूर्ण रूपमा क्षति भई बस्नै नमिल्ने अवस्थामा पुगेका परिवारलाई प्रतिपरिवार १५ हजार रूपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको रेडक्रस नुवाकोटले जनाएको छ।

आइतबार बिदुर नगरपालिका-५ को वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच प्रभावितहरूलाई राहत रकम वितरण गरिएको थियो।

उक्त कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडाध्यक्ष लीलानाथ न्यौपाने, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठ तथा सहयोगदाता संस्था इन्टरनेसनल फेडेरेसन अफ रेडक्रसका क्षेत्रीय प्रतिनिधि अलेक्ज्यान्डर म्याथ्युले संयुक्त रूपमा १०६ जना प्रभावितलाई नगद रकम हस्तान्तरण गरेका हुन् ।

रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले विदुर नगरपालिकाभरिका कुल एक हजार ७१० जना बाढी प्रभावितलाई नै नगद सहयोग पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाइएको बताए ।

विपद्को यस्तो कठिन समयमा नगद सहयोग पाहुँदा पीडितहरूले आफ्नो प्राथमिकता र आवश्यकता अनुसार आत्मसम्मानका साथ खर्च गर्न पाउने र यसले उनीहरूको दैनिक जीवनयापनलाई केही हदसम्म भए पनि सहज बनाउने विश्वास रेडक्रसका नगद तथा भोचर सहायता कार्यक्रम संयोजक भोजराज घिमिरेले बताए ।

नेरेसोका सूचना तथा सञ्चार उपसमिति संयोजक ज्ञानेन्द्र गिरीले उक्त वडाका कुल २८७ जना प्रभावितमध्ये १५१ जनाको रकम सिधै बैंक खातामा पठाइसकिएको छ भने बाँकी ३० जनालाई वडा कार्यालयमार्फत नै रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ