असोज ६, नुवाकोट । भोटेकोशी-त्रिशूलीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विभिन्न बस्तीहरूमा पुगेर अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी) को टोलीले उद्धार तथा राहत कार्यको स्थलगत निरीक्षण गरेको छ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले बाढीपीडितका लागि सञ्चालन गरिरहेका मानवीय सहायता, राहत वितरण तथा स्वास्थ्य सेवा कार्यक्रमहरूको वास्तविक अवस्था बुझ्न प्रतिनिधिमण्डलले उद्धार तथा राहत कार्यको स्थलगत निरीक्षण गरेको सभापति हरी श्रेष्ठले जानकारी दिए ।
अवलोकनका क्रममा टोलीले स्थानीय प्रभावितहरूसँग प्रत्यक्ष कुराकानी गर्दै बाढी पिडितहरूको आवश्यकता र अहिले पाइरहेको सहयोगबारे जानकारी लिएको छ।
स्थानीय रेडक्रसकर्मीहरूसँगको छलफलमा प्रतिनिधिमण्डलले विपद्को यो कठिन घडीमा प्रभावित परिवारसम्म राहत र स्वास्थ्य सेवा छिटो-छरितो ढङ्गले पुऱ्याउन जोड दिएको छ।
आगामी दिनमा पनि प्रभावित क्षेत्रमा मानवीय सहायतालाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता टोलीले जनाएको छ।