असोज ५, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ ले भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परेर बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने महत्वपूर्ण निर्णय गरेको छ।
हालैको विपद्का कारण ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकका शोकसन्तप्त परिवारलाई किरिया खर्चमा सहजीकरण पुर्याउने उद्देश्यले वडा कार्यालयले यो कदम चालेको वडाअध्यक्ष दिपक कायस्थले जानकारी दिए ।
वडाको हालै बसेको बैठकले वडा भित्रका स्थायी बासिन्दा भई बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको उनले बताए ।
यसैगरी, विदुर-२ लाई आफ्नो कर्मथलो बनाई विगत केही महिनादेखि अस्थायी रूपमा बसोबास गर्दै आएका, घरजग्गा भएका तर बसाइँसराइ नल्याएका वा विभिन्न कामको सिलसिलामा सोही क्षेत्रमा बस्दै आएका नागरिकका परिवारलाई भने किरिया खर्च स्वरूप प्रतिव्यक्ति १० हजार रुपैयाँ उपलब्ध गराइने भएको उनले जानकारी दिए ।
वडाको तथ्याङ्क अनुसार हालसम्म प्रभावित सूचीमा १० जना व्यक्तिहरू परेका छन्। जसमा १ जना वडाका स्थायी बासिन्दा रहेका छन् भने बाँकी ९ जना अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिक रहेका छन्।
वडाध्यक्षका अनुसार उक्त राहत रकम वडाको वार्षिक बजेटमा विनियोजित ५ लाख रुपैयाँको ‘विविध खर्च’ शीर्षकको भैपरी आउने कोषबाट व्यहोरिनेछ।
स्थानीय तहले आफ्ना नागरिकको दुःखमा देखाएको यो तत्परता र मानवीय सहयोगले पीडित परिवारलाई केही हदसम्म भए पनि राहत पुग्ने अपेक्षा गरिएको छ।