+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा अमेरिकी नियोग प्रमुख, बेपत्ता नागरिकको खोजी र बाढीपीडित राहतको अवलोकन

डबली खबर
१७ घण्टा अगाडी

असोज २, नुवाकोट। नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र संघीय अनुसन्धान ब्युरो (एफबीआई)का सहायक कानुन कार्यान्वयन एटासे रिले पाल्मरट्रीले आज नुवाकोट आई जिल्ला प्रहरी कार्यालय नुवाकोटका अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

हालैका बाढी र पहिरोपछि एफबीआईले नेपाल प्रहरीसँग मिलेर विपद्‌मा परेका पीडितहरूको पहिचान तथा विशेष मानवीय सहयोग उपलब्ध गराइरहेको छ। यस सहकार्यले बेपत्ता भएका अमेरिकी नागरिकका परिवारका साथै अन्य सबै प्रभावितहरूलाई आधिकारिक विवरण र सूचना पाउन राहत पुग्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा कार्यवाहक राजदूत बोल्डिनले बाढी प्रभावित समुदायलाई सहयोग पुर्‍याउन स्थापना गरिएका विस्थापित केन्द्र र मानवीय सहायता ‘लजिस्टिक हब’को पनि निरीक्षण गरिन्।

अमेरिकी सरकारले विश्व खाद्य कार्यक्रम र क्याथोलिक रिलिफ सर्भिसेजमार्फत स्थानीय प्रभावितहरूका लागि खाद्यान्न, अस्थायी बासस्थान, मनोसामाजिक परामर्श तथा संकटकालीन राहत सामग्री प्रदान गर्दै आएको छ।

संयुक्त राज्य अमेरिकाले हालसम्म नेपालको बाढी राहत तथा उद्धार कार्यका लागि ५० लाख अमेरिकी डलर अर्थात् करिब ६७ करोड रुपैयाँभन्दा बढी सहायता हस्तान्तरण गरिसकेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ