असोज २, नुवाकोट । नेपालमा हालै गएको विनाशकारी आकस्मिक बाढी र पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना लागि जापान सरकारले १ मिलियन अमेरिकी डलर अर्थात् करिब १३ करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको आपत्कालीन अनुदान सहयोग प्रदान गरेको छ। उक्त सहयोग अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीज (आइएफआरसी)मार्फत खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिनेछ।
बाढीका कारण अति प्रभावित क्षेत्रहरूमा खानेपानीका मुहान र सरसफाइका संरचनाहरू नष्ट भएकाले यो सहयोग मुख्य गरी स्वच्छ खानेपानीको पहुँच विस्तार, अस्थायी शौचालय निर्माण र स्वच्छतासम्बन्धी सचेतना फैलाउनमा केन्द्रित रहने जनाइएको छ। मानवीय विपद्को यस कठिन समयमा हैजा तथा जलजन्य रोगहरूको सम्भावित जोखिम रोकथाम गरी प्रभावित समुदायको स्वास्थ्य सुरक्षा गर्नु यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।
सहयोग रकमको सदुपयोग र स्थलगत अवस्थाको अनुगमनका क्रममा नेपालस्थित जापानी दूतावासका प्रथम सचिव उमेदा नाओतोले नुवाकोटका बाढीप्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् । सो क्रममा उनले आपत्कालीन स्वास्थ्य शिविर, विस्थापित शिविरहरू र खानेपानीका ट्याङ्क राखिएका स्थानहरूको निरीक्षण गर्दै राहत कार्यको अवस्थाबारे जानकारी लिएका छन् । प्रथम सचिव नाओतोले यो सहयोगले बाढीपीडितहरूका आधारभूत आवश्यकता पूर्ति गर्दै उनीहरूको जीवन रक्षा गर्न र अति आवश्यक सेवा पुनः सञ्चालन गर्न तत्काल मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
विपत्को यो घडीमा सहयोगप्रति आभार व्यक्त गर्दै आइएफआरसी नेपालका प्रतिनिधि प्रमुख डेभिड फिसरले भने, “विनाशकारी बाढीले मानिसहरूका घर र जीविकोपार्जनका साधन मात्रै खोसेन, हजारौँ मानिसलाई स्वच्छ खानेपानी र आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित गराएको छ। यस्तो बेला तत्काल कदम नचाले रोगको महामारी फैलिन सक्ने ठूलो जोखिम रहन्छ। जापान सरकारको यो सहयोगले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा प्रभावकारी रूपमा काम गर्न र प्रभावितहरूसम्म सफा खानेपानी तथा स्वास्थ्य सेवा पुर्याउन ठूलो बल मिलेको छ।”
जापानी दूतावासले यो आपत्कालीन कार्यक्रमको शीघ्र कार्यान्वयनले प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन, स्वास्थ्य जोखिमहरू न्यूनीकरण गर्न र बाढीपछिको पुनर्लाभ तथा उत्थानशीलतामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिएको छ।