+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली बजारबासीलाई कोलेनी सार्न केन्द्रसँग माग: वडाअध्यक्ष रञ्‍जित

सुनील श्रेष्ठ
१८ घण्टा अगाडी

असोज २, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको अविरल बाढी र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै त्रिशूली बजारवासीको सुरक्षित पुनर्वासका लागि विदुर नगरपालिकाले प्रक्रिया अगाडि बढाएको छ।

बाढीको जोखिमका कारण हालको बस्ती सुरक्षित नरहेको निष्कर्ष निकाल्दै नगरपालिकाले स्थानीय बासिन्दालाई विदुर नगरपालिका वडा नम्बर ९ स्थित कोलेनीमा रहेको नेपाल विद्युत प्राधिकरणको जग्गामा सारेर पुनर्वास गराउने योजना अघि सारेको विदुर नपा-१ का वडा अध्यक्ष लेनिन रञ्‍जितले जानकारी दिए ।

वातावरणीय प्रभाव र जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने अझ ठूलो विपद्बाट धनजनको क्षति हुन नदिन पूर्वतयारीस्वरूप स्थानान्तरणको माग गरिएको उनले बताए । यसका लागि विदुर नगरपालिकाले केन्द्रीय सरकारसँग प्राधिकरणको जग्गा उपलब्ध गराइदिन औपचारिक अनुरोध गरिसकेको उनले जानकारी दिए ।

“नेपाल सरकार तथा विषयगत निकायहरूले सो क्षेत्र अब बसोबासका लागि उपयुक्त नभएको जानकारी गराएपछि विकल्पको खोजी सुरु गरिएको हो”, उनले भने “यदि केन्द्र सरकारबाट जग्गा प्राप्तिको स्वीकृति मिलेमा कोलेनीमा आवश्यक भौतिक पूर्वाधारहरू निर्माण गरी जोखिममा परेका परिवारलाई सुरक्षित रूपमा पुनर्स्थापित गरिनेछ।”

पुनर्वासको योजनासँगै त्रिशूली बजारलाई पुरानै अवस्थामा फर्काउने र नदी व्यवस्थापन गर्ने प्रयास पनि उत्तिकै सक्रियताका साथ भइरहेको उनले बताए ।

“नदीमा थुप्रिएका गेगर, ढुङ्गा र बाढीको लेदो पन्छाएर नदीलाई पुरानै गहिराइ र बहाव प्रणालीमा फर्काउनका लागि उच्चस्तरीय पहल सुरु गरिएको छ”, उनले बताए “यसै सिलसिलामा गठित सचिवस्तरीय उच्चस्तरीय समितिमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले समेत सहभागिता जनाउँदै नदीको पुरानो स्वरूप फर्काउने र बजारको संरक्षण गर्ने प्रस्ताव औपचारिक रूपमा पेस गर्नुभएको छ।”

विदुर नगरपालिकाले एकातिर जोखिमयुक्त बजारवासीलाई सुरक्षित स्थानमा सार्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाएको छ भने अर्कातिर काठमाडौँ, नुवाकोट र रसुवा जोड्ने मुख्य यातायात तथा व्यापारिक केन्द्रका रूपमा रहेको त्रिशूली बजारको अस्तित्व जोगाउन नदी नियन्त्रणका कामलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ