भदौ ३०, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले यातयात र तटीय क्षेत्र अस्तव्यस्त बनाएपछि विदुर नगरपालिकाले आपतकालीन उपायस्वरूप बेली ब्रिज निर्माण गर्ने भएको छ। बाढीले सडक सम्पर्क टुटाएपछि प्रभावित बस्तीलाई पुनः सञ्जालमा जोड्न नगरपालिका कस्सिएको हो।
विदुर नपा-४ स्थित सिमचौर र विदुर नपा-१२ स्थित गौरीबेँसी जोड्ने खण्डका लागि बेली ब्रिज आवश्यक परेको भन्दै नगरप्रमुख राजन श्रेष्ठले नेपाली सेनाको जंगी अड्डा भद्रकालीलाई सहयोगका लागि पत्राचार गरेका छन्। बाढीका कारण पूर्ण रूपमा रोकिएको आवतजावतलाई सुचारु गराउन नेपाली सेनासँग प्राविधिक समन्वय र सहजीकरणको माग गरिएको छ।
गत भदौ १० गते भोटेकोशीबाट उग्र बन्दै आएको त्रिशूलीको बाढीले नदी आसपासका पूर्वाधार तहसनहस पारेको थियो। लगत्तै बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले उद्धार, राहत र नागरिकको सहजताका लागि तत्काल बेली ब्रिज हाल्ने निर्णय गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।
नगरपालिकाले आफ्नै पहलमा बाढीले पुर्याएको क्षतिको विस्तृत अध्ययन गरिरहेको छ। यसका साथै क्षति पुगेका संरचनाको दीर्घकालीन पुनर्निर्माण र विस्थापितको पुनःस्थापनाका लागि योजना बनाएर काम अघि बढाउने तयारी भइरहेको छ।