भदौ २९, नुवाकोट । आफ्नै आँखाअगाडि भोटेकोशी-त्रिशूली नदीमा आएको भिषण बाढीले बगाएर लगेका परिवारका पाँचजना सदस्यहरूको शोकमा डुबेका नुवाकोट विदुर नगरपालिका-१ का प्रकाश जोशी र उनका भाई उत्तम जोशी यतिबेला झन् ठूलो पीडा र आक्रोशमा छट्पटाइरहेका छन्।
रसुवामा गएको भीषण बाढीमा परेर आमा देवी, श्रीमती अञ्जना श्रेष्ठ, दुई छोराहरू आदित्यमान र आयुक्त, तथा बुहारी सरिता श्रेष्ठलाई एकैपटक गुमाएका जोशी दाजुभाई अहिले सरकारको ढिलासुस्ती र प्रशासनिक बेवास्ताको शिकार बनेका हुन्।
बाढी गएको भोलिपल्टैदेखि आफन्तको सास वा लाशको खोजीमा भौँतारिएका प्रकाशले जेठो छोराको शव चितवनमा फेला पारेका थिए।
दाईले आफ्नै रगत, आफ्नै सन्तानलाई आँखाले चिनेर, सबै परिचय र विवरण खुलाउँदा पनि प्रहरी र स्थानीय प्रशासनले शव हस्तान्तरण गर्न अस्वीकार गरिदिएको उनका भाई उत्तम जोशीले बताए ।
प्रहरी अस्पतालमा पुगेर डिएनए परीक्षणका लागि रगत दिएको १५ दिन नाघिसक्दा पनि रिपोर्ट नआएको भन्दै प्रशासनले झुलाइरहेको प्रकाश बताउँछन् । छोराको शव पाउन उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय चितवनसम्म ढोका ढोका धाए, तर कतैबाट पनि उनको चित्कार सुनिएन।
केही दिनअघि चितवन पुगेर छोराको शव गाडिएको स्थल अवलोकन गरेर फर्किएका प्रकाशले त्यहाँको सुरक्षा व्यवस्था देखेपछि झन् चिन्तित बनेका छन्।
शव राखिएको ठाउँमा कुनै सुरक्षाकर्मी तैनाथ नगरिएको र गम्भीर लापरवाही गरिएको उनको भनाइ छ।
सर्वस्व गुमाएर अन्तिम संस्कारका लागि कम्तीमा छोराको शव पर्खिरहेका पीडित नागरिकप्रति राज्यका जिम्मेवार निकायले देखाएको यो उदासीनता र ढिलासुस्तीले सर्वसाधारणमा समेत ठूलो आक्रोश पैदा गरेको छ।
प्राकृतिक विपत्तिले उजाडिएको परिवारलाई मलम लगाउनुको साटो उल्टै प्रशासनिक सास्ती दिनु राज्यको चरम संवेदनहीनता हो।